
पोखरा, १७ वैशाख । पोखरा महानगरपालिकामा नेकपा एमालेबाट मेयरको उम्मेदवार बनेका कृष्णबहादुर थापाले अर्को चुनाव नलड्ने घोषणा गरेका छन् ।
शनिबार महानगरको घोषणापत्र सार्वजनिक गर्दै यस्तो बताएका हुन् । प्रदेश सांसदबाट राजीनामा दिएर मेयरको उम्मेदवार बनेका पार्टीले अर्को पुस्ता तयार गरेको र चुनाव लड्न महाभारत भएको बताउँदै निर्वाचन नलड्ने बताएका हुन् ।
‘पार्टीमा चुनाव लड्न महाभारत छ । स्वभाविक रुपमा अर्को पुस्ता पनि अब करिब करिब पार्टीले तयार पारिसकेको अवस्था छ,’ शनिबार पोखरा महानगरपालिकाको घोषणापत्र सार्वजनिक कार्यक्रममा थापाले भने, ‘म आज आदरणीय नेतालाई साक्षी राखेर अर्को पटक चुनाव नलड्ने घोषणा गर्दछु ।’
उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य खगराज अधिकारी लगायत नेताहरुको उपस्थितिमा आफ्नो धारणा राखेका हुन् ।
थापा पोखराका पूर्वमेयरसमेत हुन् । उनी २०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयरमा नेतृत्व सम्हालेका थिए ।















प्रतिक्रिया