
काठमाडौँ, १७ वैशाख । नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्तारुढ गठबन्धनले पराजय स्वीकार गरिसकेको बताएका छन् ।
भट्टराईले गठबन्धन कुनै पार्टी नभएको र त्यसमा आवद्ध दलहरुले पराजय स्वीकार गरिसकेको बताएका छन् ।
‘देशमा अहिले एउटै मात्र पार्टी छ, त्यो हो नेकपा एमाले । अर्को पार्टी छैन केवल गठबन्धन मात्र छ । गठबन्धन भनेको पार्टी होइन,’ ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको बृहत् भेलालाई सम्बोधन गर्दै सचिव भट्टराईले भने ।
उनले नेपालमा अहिले एउटै मात्र राजनीतिक दल एमाले रहेको बताए ।
उनले एमालेसँग प्रतिस्पर्धा गर्ने दल अन्य कुनै नरहेको समेत बताए ।
सचिव भट्टराईले आफूलाई बहुदलीय व्यवस्थाको च्याम्पियन मान्ने नेपाली कांग्रेस यो प्रतिस्पर्धाबाट भाग्दा आफूलाई अचम्म लागेको बताए । उनले भने, ‘नेपाली कांग्रेस प्रतिस्पर्धामा आउन खोजेको छैन । माओवादी यसको विपक्षमा हुँदा मलाई अचम्म लाग्दैन किनभने माओवादीको सिद्धान्त मूलतःबहुदलीय प्रतिस्पर्धा होइन् उसको सिद्धान्त एकदलीय व्यवस्था हो । तर नेपाली कांग्रेस यो प्रतिस्पर्धाबाट भाग्नु र इन्कार गर्नु आफैमा आश्चर्यजनक रहेको छ ।’
त्यस्तै, नेपाली कांग्रेसको जीतको मनस्थिति नरहेको पनि भट्टराईले बताए, ‘खेलमैदान पस्दा पस्दै नेपाली कांग्रेसले आफूलाई पराजित भएको महसुस गरिरहेको छ ।’ उनले कांग्रेसमा योग्य खेलाडी र क्याप्टेन नभएको बताए । एमालेले गतनिर्वाचनमा ३२ लाख मत ल्याएको अबको निर्वाचनमा करिब ४० लाख मत प्राप्त गर्ने प्रक्षेपण समेत सुनाए ।















प्रतिक्रिया