– कपिलदेव खनाल
नुवाकोट, १४ बैशाख । भूकम्पबाट यस जिल्लाका अधिकांश सरकारी कार्यालयहरुमा क्षति पुगेको छ । पटक पटक आएको भूकम्पको धक्काबाट सबै सरकारी कार्यालयको भौतिक संरचना र कार्यालयमा क्षति पुगेको हो ।
जिल्ला प्रशासन कार्यालय पूर्ण रुपमा ध्वस्त भएको छ । दुई तल्लाको कार्यालयको भौतिक संरचना मर्मतै गर्न नसकिने गरी ध्वस्त भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिनुभएको छ । कार्यालय ध्वस्त भएसँगै जिल्ला प्रशासन कार्यालय नुवाकोटले आफ्नो सम्पर्क कार्यालयका रुपमा कर्मचारी मिलन केन्द्र विदुरमा केन्द्र स्थापना गरेको छ ।
भूकम्पबाट क्षति पुगेको सरकारी कार्यालयहरु जिल्ला अदालत, सरकारी वकिलको कार्यालय, जिल्ला शिक्षा कार्यालय, भू–क्षय कार्यालय, कोलेनिका, विदुर नगरपालिका, जिल्ला हुलाक, जिल्ला वन, जिल्ला विकास समिति, जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय लगायतका छन् ।
यस्तै, भूकम्पले बढी मानवीय क्षति पु¥याएका गाउँ विकास समितिहरुमा काहुले, भाल्चे, साल्मे, किम्ताङ्ग, फिकुरी, सामरी, तुप्चे, गेर्खू, शिखरवेशी, रातमाटे, सुन्दरादेवी, खानीगाउँ, गेर्खु, चौघडा, थानसिंग, कविलास लगायतका छन् ।
भूकम्पका कारण नहरमा पुग्न गएको क्षतिले २१ मेगावाट क्षमताको त्रिशुल जलविद्युत् आयोजना र १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् आयोजना बन्द भएको छ । भूकम्प जाँदा विद्युतीय लाइनमा समेत क्षति पुगेकाले केही साता विद्युत् सुचारु हुन नसक्ने नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण शाखाले जनाएको छ । रासस


















प्रतिक्रिया