
काठमाडौँ, १५ वैशाख । निर्वाचन आयोगले कुनै पनि मन्त्रीले उम्मेदवारी फिर्ता लिन दवाव दिनु आचारसंहिता विपरित भएको जनाएको छ ।
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ता लिन प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्री बालकृष्ण खाँण चितवन पुगेका थिए ।
पौडेलको निवासमै भेटेका खाणलाई पौडेलले उम्मेदवारी फिर्ता नलिने अडान स्पष्ट पारेका छन् ।
त्यस्तै, पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीसमेतले पौडेललाई घरमै भेटेर एक्लै चुनाव नजितिने भन्दै उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।
बिहीबार खाणले पौडेललाई गठबन्धन नै तलमाथि हुने भन्दै उम्मेदवारी फिर्ता लिन दवाव दिएका थिए ।
यद्यपि पौडेलले आफ्नो अडान छोडेनन् ।
निर्वाचन आयोगले भने उम्मेदवारमाथि मन्त्रीले नै उम्मेदवारी फिर्ता लिन दवाव दिनु आचारसंहिता विपरित भएको बताएको छ ।
पार्टीले चिठ्ठीमार्फत उम्मेदवारी फिर्ताका लागि आग्रह गर्न सक्ने भए पनि मन्त्रीले नै दवाव दिन आचारसंहिता विपरित भएको आयोगका एक जना पदाधिकारीले दैनिक नेपाललाई बताएका छन् ।
ति पदाधिकारीका अनुसार उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने प्रणाली भए पनि सार्वजनिक पदमा रहेर त्यसमा पनि मन्त्रीले नै उम्मेदवारी फिर्ता लिन दवाव दिनु सरासर आचारसंहिता विपरित भएको बताएका छन् ।















प्रतिक्रिया