
दाङ, १५ वैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारुढ गठबन्धनले राष्ट्रिय हितको लागि काम नगर्ने बताएका छन्।
प्रेस चौतारी दाङ शाखाले तुलसीपुरमा गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै पोखरेलले यो गठबन्धनले विदेशी हितको प्रतिनिधित्व गर्ने बताए। ‘हामी राष्ट्रिय हितको प्रतिनिधित्व गर्दैछौँ। गठबन्धनहरू कम्फर्टेबल बन्न खोज्छन्’, उनले भने, ‘उनीहरू विदेशी हितको लागि काम गर्छन्। अबको केही समयमा राष्ट्रिय हितको पक्ष किरु ‘कम्फर्टेबलको पक्षमा भन्ने जनादेश हुँदैछ।’
उनले अहिलेको गठबन्धन सत्ता टिकाउने स्वार्थमा लागेका कारण नै चुनावी गठबन्धन गरेको बताए। अहिलेको सरकारको कुनै उद्देश्य, गन्तव्य र लक्ष्य नभएको भन्दै उनले यो गठबन्धन केका लागि भनेर कसैले जवाफ दिन नसक्ने र मात्र एमालेलाई रोक्नका लागि भनेर भन्ने गरेको बताए।
‘एमालेको जुन संकल्प, अठोट छ। राष्ट्र निर्माणको लागि जुन भिजन छ, कार्यक्रम छ’, उनले भने, त्यो रोक्नका लागि गठबन्धन भएको भन्ने कुरा अराजनीतिक हो । जसको आफ्नो लक्ष्य, मिसन, भिजन छैन। त्यसैले एमालेलाई रोक्न चाहन्छ।’
उनले गठबन्धनले जसरी हुन्छ, नेताका टाउका जोडेर जनादेशलाई रोक्न लागेको पनि बताए।















प्रतिक्रिया