सिबी अधिकारी
काठमाडौँ, १४ वैशाख । विनासकारी भूकम्पका कारण काठमाडौँ उपत्यकाबासीले निकै सास्ती बेहोर्नु परेको छ ।
शनिबार गएको ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्पले उपत्यकाका पुराना अधिकांश घर भत्कदा सयौँको ज्यान गएको छ भने हजारौँ विस्थापित भएका छन् ।
दिनमा भोक छैन, रातमा निद छैन, बेचेन मनले उपत्यकाबासीमा भूकम्पको त्रासदी अझै कायमै छ ।
पटक–पटक भूकम्पको धक्काले उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका जनतामा त्रास फैलिएको छ । उनीहरु खुल्ला र सुरक्षित स्थानमा पाल टाँगेर तथा कतिपय खुल्ला आकासमुनि नै रात बिताउन बाध्य छन् ।
भूकम्पको त्रासदीसँगै गएराति परेको पानीले पालमुनि बसेका सर्वसाधरणले थप सास्ती बेहोर्नुप¥यो । दिउँसो केही राहतको महसुस भएपनि रातमा पानी परेपछि महाआपत्तिमा परे उपत्यकाबासी । तीन दिनदेखि खाने, बस्नेको बेटुङ्गोमा रहेका जनताले रातिको वर्षाले अर्को विपत्ति बेहोर्नु प¥यो । त्यसमा पनि पटकपटकको भूकम्पको झटकाले अझ आतंकित बनाएको थियो ।
काठमाडौँ कपनका अनिमेश दाहालले आफूहरुको करिब ८० जनाको समूह पालमुनी बसेकामा रातिको वर्षाले निकै सास्ती दिएको बताउनुभयो ।
दाहालजस्तै कपन आसपासका दर्जन बढी क्षेत्रमा सामूहिक रुपमा पालमुनी सर्वसाधारणले निकै सास्तीकासाथ रात बिताए । आलु, चिउरा, चाउचाउका भरमा तीन दिनदेखि जीवन गुजारा गर्दै आएको दाहालले बताउनुभयो ।
कतिपयले खुल्ला चौरमै खाना पकाउने सिलिन्डर ग्यास जोडेर सामूहिक भोजन गरिरहेका छन् ।
नयाँ वानेश्वरको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बसेका हजारौँ सर्वसाधारण रातभर जागराम बसेको नयाँबानेश्वरका एकीन्द्र अधिकारीले बताउनुभयो । चाउचाउ, विस्कुटजस्ता खानेकुरा र पानीको अभाव रहेको उहाँले उल्लेख गर्नुभयो ।
सिंहदरबारको नेपाल टेलिभिजन अगाडि खुल्ला स्थानमा बसेका करिब ५०० जनाले पानीका कारण निकै कठिनाइ बेहोर्नुपरेको अनामनगरकी शान्ता अधिकारीले बताउनुभयो ।
कीर्तिपुर क्षेत्रमा पाँगा दोबाटो क्षेत्रमा सर्वसाधारणले कुनै राहत नपाएको गुनासा गरेका छन् । स्थानीय अरुणा अधिकारीले त्रिवि,परिसरमा पाललगायतका राहत सामग्री भण्डारण गरिएको भएपनि कुनै पनि निकायबाट अहिलेसम्म वितरण नभएको गुनासो गर्नु भयो ।
यता भक्तपुरका अधिकांश सर्वसाधारणले खुल्ला चौर तथा बारिका पाटा र खेतमा कष्टकर रात बिताए । ठिमी क्षेत्रका सर्वसाधारण कमेरोटाउन प्लानिङ्मा हजाराँैको संख्यामा पाल टाँगेर बसेकामा पानीले रातभर हैरानी बनाएको स्थानीय गोकुल बस्नेतले बताउनुभयो ।
दधिकोटका अधिकांश जनता खेतका गह्रामा रात दिन बिताइरहेका छन् । त्यहाँ सामूहिक भोजन पनि चलिरहेको छ ।
यता ललितपुरको सबैभन्दा बढी भूकम्प प्रभावित चापागाउँ क्षेत्रका बासिन्दाको रातभर भागदौड मच्चिएको छ । स्थानीय चन्द्रबहादुर तामाङका अनुसार चापागाउँ क्षेत्रमा खानेकुरा र पिउने पानीको निकै समस्या भएको छ । ललितपुरका जावलाखेल, बालकुमारी, कुशुलेचौर, बज्रबाराही, गोदावरीलगायत खुला स्थानमा हजारौँको संख्यामा सर्वसाधारण पालमुनी बसेका छन् । राति परेको पानीले उनीहरुलाई निकै सास्ती दिएको थियो ।
चापाँगाउका अधिकांस पुराना घर ध्वस्त भएको छ भने केही पक्की घरमा पनि क्षति पुगेको छ । पुरातात्विक क्षेत्र पाटन दरबार स्क्वायरमा भौतिक संरचनाको ठूलो क्षति भएको छ ।
काठमाडौँको टुँडिखेल, खुल्लामञ्च, दशरथ रङ्गशालालगायत क्षेत्रमा हजारौैँको संख्यामा सर्वसाधारण पालमुनि बसेका छन् । रासस
















प्रतिक्रिया