काठमाडौँ, १३ वैशाख । भूकम्पमा परी अहिलेसम्म देशभर कम्तीमा २५ सय जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार धेरै सङ्ख्यामा मानिस हराइरहेकाले २५ सय जनाको मृत्यु भएको प्रारम्भिक अनुमानमा देखिएको छ ।
भूकम्पबाट पाँच हजार घाइते भएका छन् । भूकम्प प्रभावित जिल्लाबाट विभिन्न विवरण आउनेक्रम जारी रहेकाले यो सङ्ख्या धेरै हुन सक्ने बताइएको छ ।
शनिबार मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु बनाएर ७ दशमलव ६ रिक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा देशका मध्य र केही पश्चिमी भेगका २९ जिल्ला प्रभावित भएका थिए । तीमध्ये काठमाडौँ उपत्यकामा सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति भएको छ । पुराना कमजोर घर भत्कँदा सयौँ मानिस च्यापिएको र बेपत्ता भएको आशङ्का गरिएको छ ।
शक्तिशाली भूकम्प गएको २४ घण्टा नबित्दै आइतबार फेरि अर्को ठूलो भूकम्प गएको छ । आइतबार १२ बजेर ५४ मिनेटमा ६ दशमलव ७ रेक्टरको भूकम्प गएको हो ।
अहिले पनि नेपाली सेना र प्रहरीले उद्दार कार्य जारी राखेकाले मृतकको संख्या यकिन गर्न अप्ठेरो भएको छ ।













प्रतिक्रिया