९ कार्तिक २०८३, सोमबार

तीन भाषामा सार्वजनिक यस्तो छ एमाले काठमाडौँ महानगरको घोषणापत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० वैशाख । नेकपा (एमाले) ले काठमाडौँ महानगरको चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।

एमाले काठमाडौँ महानगर कमिटीले तीन भाषामा प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो । एमालेले नेपाली, नेपालभाषा (नेवाः) र अंग्रेजी भाषामा आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो ।

कमिटीले प्रतिवद्धतापत्र सबैले बुझ्ने सम्पर्क भाषा नेपाली, काठमाडौंको स्थानीय भाषा नेपालभाषा र युवा पुस्ता एवं दुवै भाषा नबुझ्ने विदेशीहरूका लागि अंग्रेजी भाषामा सार्वजनिक महानगर कमिटीले जानकारी दिएको छ ।

नेपालमा भएका सबै भाषाहरूप्रति सम्मान प्रकट गर्नुका साथै तत्तत् भाषामै प्रतिवद्धतापत्र प्रकाशित गर्दा सम्प्रेषणीय हुने भएकोले नेकपा (एमाले) काठमाडौँ महानगर कमिटीले स्थानीय भाषामा पनि प्रतिवद्धतापत्र सार्वजनिक गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख एवं नेकप (एमाले) केन्द्रीय सदस्य विद्यासुन्दर शाक्यले जानकारी दिए ।

नेकपा एमालेले काठमाडौं महानगरका लागि जारी गरेको प्रतिवद्धता पत्रमा जम्मा १०८ बुँदा छन् । यसमा काठमाडौंको सम्पदा, पूर्वाधार निर्माण, फोहरमैला व्यवस्थापन आदि जस्ता विषयकेन्द्रित बुँदाहरू रहेका छन् ।

१ सय ८ बुँदाको सार्वजनिक प्रतिवद्धता–पत्रमा नेकपा (एमाले) नेतृत्वका जनप्रतिनिधीहरुको पहिलो कार्यकालमा ऐन, नियम, कार्यविधिहरुको तर्जुमा, सडक तथा ढलहरुको नियमित मर्मत सम्भार, स्तरोन्नति तथा विस्तार, २०७२ सालको महाभूकम्पबाट क्षति भएका सम्पदाहरुको जीर्णोद्धार, पुनर्निर्माण, अमूर्त सम्पदाहरुको जगेर्र्ना जस्ता कार्य अघि बढेको उल्लेख छ ।

‘सार्वजनिक स्थल संरक्षण, वडा कार्यालय भवन निर्माण, विद्युतीय सुशासन, जनस्वास्थ्य सेवा प्रवद्र्धन, स्थानीय भाषामा पठनपाठन, आधुनिक शौचालय निर्माण, आकाशे पानी पुनर्भरण, सामुदायिक विद्यालय पूर्वाधार तथा शिक्षण सुधार, फोहरमैला ब्यबस्थापनको दीर्घकालीन समाधानको कार्यान्वयन प्रक्रिया आरम्भ, युवा उद्यमशीलता प्रवर्द्धन, तथ्यमा आधारित नीति निर्माण जस्ता महत्वपूर्ण तथा दूरगामी कार्यक्रम तथा योजनाहरु कार्यान्वयन भएका छन्,’ प्रतिवद्धता–पत्रमा भनिएको छ, ‘विशेषतः विश्वव्यापी कोभिड–१९ को महामारीबाट ग्रसित महानगरवासीको जीवनरक्षाको लागि काठमाडौं महानगरपालिकाको भूमिका अग्रणी रह्यो ।’

महानगरपालिकाले सार्वजनिक गरेको प्रतिवद्धता–पत्रमा ७५ बर्षभन्दा माथिका वरिष्ठ ज्येष्ठ नागरिकहरुलाई दिदै आएको बार्षिक रु १२००० विशेष भत्ता बृद्धि गरी रु। १८,००० पुर्याउने उल्लेख गरेको छ ।

‘युवाको जाँगर, समृद्ध महानगर’ अभियान सञ्चालन गरी युवाहरू संलग्न विज्ञान, प्रविधि, सामाजिक सेवा, उद्यमशीलता तथा सीपबृद्धिका क्षेत्रमा उदाहरणीय कार्य गर्ने संघ संस्थासँग समन्वय र सहकार्य गरिनेछ,’ प्रतिवद्धता–पत्रमा भनिएको छ,’ युवाहरूको सहयोगी समूहको सूची तयार गरी प्रत्येक वडामा स्वस्थ जीवनशैली, नेतृत्व विकास, सकारात्मक सोच सम्बन्धीयुवासँग मेयर कार्यक्रम सञ्चालन गरिनेछ ।’

महानगरको सूचना नियमिता र प्रभावकारी संप्रेषणका लागि मिडिया डेस्कको स्थापना गर्ने कुरालाई पनि प्रतिवद्धता–पत्रमा समावेश गरेको छ ।

लैङ्गिक समानताकोे आधारः छोरी बुहारीलाई रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार परिवारका महिलालाई क्षमता तथा योग्यता अनुसारको तालिम उपलब्ध गराई रोजगारीमा पहुँच सुनिश्चित गरिने कुरालाई पनि प्रतिवद्धता–पत्रमा प्राथमिकतामा राखिएको छ ।

घरधुरीस्तरमा नै फोहरमैला वर्गीकरण गर्ने कार्यलाई प्राथमिकता दिइनेछ । प्रतिवद्धता–पत्रमा बढी भिडभाड हुने सार्वजनिक स्थलहरुमा आवश्यकता अनुसार सुविधा सम्पन्न र वातावरणमैत्री ६० वटाआधुनिक सार्वजनिक शौचालयहरुको निर्माण गर्ने कुरालाई पनि प्राथमिकतामा राखिएको छ ।

सरकारी वा सामुदायिक अस्पतालहरुसँगको सहकार्यमा कम्तिमा ५० शैयाको महानगर ज्येष्ठ नागरिक अस्पताल सञ्चालनमा ल्याइनेछ,’ प्रतिवद्धता–पत्रमै भनिएको छ,’ ‘महानगरवासीको स्वास्थ्य अवस्था पहिचानको लागि हेल्थ कार्ड प्रणाली अवलम्वन गरिनेछ । नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत महानगरवासीको स्वास्थ्य विमा शुल्कको ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ ।’

‘पुनर्निर्माण हुन बाँकी रहेका सम्पूर्ण द्यःछेँं, आगंछेँ, त्वाःछेँ, क्वापाःछें, मन्दिर, बहाः बही, पाटी, सत्तल, ल्वहंहिटी आदि सम्पदाहरुको निर्माण कार्य सम्पन्न गरिनेछ । भद्रकाली, महाँकाल, वडा २५ को नउदेगः, संकटा मन्दिर लगायतका सम्पदाहरुको पुनर्निर्माण गरिनेछ,’ प्रतिवद्धता–पत्रमै भनिएको छ,’ ‘बौद्ध मूर्त अमूर्त सम्पदाहरुको संरक्षण तथा प्रबद्र्धन गर्न “बहाः बही संरक्षण तथा प्रबद्र्धन विकास समिति” गठन गरिनेछ । विश्व सम्पदामा सूचिकृत वसन्तपुर दरवार क्षेत्र, स्वयम्भू, पशुपतिनाथ र बौद्ध परिसरको संरक्षण तथा विकासको लागि गुरुयोजना कार्यान्वयन गर्न सहकार्य गरिनेछ ।’

त्यसैगरी इन्द्रजात्रा, सेतो मछिन्द्रनाथ जात्रा, पचली भैरब जात्रा, पाँहाचह्रे पर्व लगायतका जात्रा/पर्वहरुलाई अन्तर्राष्ट्रियकरण गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने, काठमाडौं महानगरपालिका क्षेत्रभित्रका ऐतिहासिक, पुरातात्विक तथा वास्तुकलात्मक महत्वका परम्परागत शैलीका निजी तथा संस्थागत स्वामित्वका भवनहरुको संरक्षण तथा पुनःनिर्माणको लागि अनुदान दिइने जस्ता कुरा पनि उल्लेख गरिएको छ ।