१० कार्तिक २०८३, मंगलबार

रन्जु दर्शनाले गरिन् स्थानीय निर्वाचन नलड्ने घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ वैशाख । २०७४ को स्थानीय तहको निर्वाचनमा महत्वपूर्ण मत हासिल गरेकी नेतृ रन्जु दर्शनाले यसपालिको स्थानीय निर्वाचनमा मेयरमा उम्मेदवारी नदिने घोषणा गरेकी छन् ।

बिहीबार सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै दर्शनाले यस्तो घोषणा गरेकी हुन् ।

उनले आत्मसमीक्षा गर्दै अघिल्लो पटकको स्थानीय निर्वाचनमा गरेको वाचा र घर–घर मतदातालाई बाँडेको घोषणापत्र बमोजिम आफूले काम गर्न नसकेको बताउँदै मेयर पदको आकांक्षा राखी चुनावमा प्रतिस्पर्धामा उत्रन नमिल्ने उल्लेख गरेकी हुन् ।

यद्यपि उनले राजनीति भने नछोड्ने स्पष्ट पारिन् । ‘मेरो सक्रियता राष्ट्रिय मुद्दा, विषय, पार्टीको राजनीतिमा बढी व्यतीत भएको छ यसर्थ यिनै सक्रियता अनुसारको कदममा म अघि बढ्ने छु,’ उनले भनेकी छन्, ‘मैले सुरु गरेको राजनीतिमा चुनावमा बढी मत ल्याएर विजय हासिल गरेर मात्र हुँदैन यो राजनीतिमा त राजनीतिक सु-संस्कार स्थापना गर्ने कुरामा म विश्वास गर्दछु, र त्यही मान्यतामा मेरो यो कदम आधारित छ ।’

यस्तो छ दर्शनाको घोषणाः

नमस्कार सम्पूर्ण आम मतदाता तथा मेरा साथी, शुभचिन्तकहरू,

तपाईंहरूको साथ र वैकल्पिक राजनीति प्रतिको अपेक्षा एवम् विश्वासले मलाई आफ्नै कटु समीक्षा र मूल्याङ्कन गर्न प्रेरित गरेको छ । सबैभन्दा कठिन पनि आफ्नै समीक्षा गर्ने काम रहेछ तर म सत्यमा विश्वास गर्छु र मूल्यमान्यतामा आधारित राजनीति र जीवन दर्शन अपनाउँछु त्यसैले पनि यो पत्र, यो सन्देश सबैले पढ्न जरुरी छ ।

म, मेरो टिम समाज द्वारा अपेक्षा गरिएको व्यक्तिहरू मध्येमा पर्छौँ भन्ने कुराको मनमा हेक्का छ त्यसैले निष्ठा र भरोसाको राजनीति नै अघि बढाउनुपर्छ । जे यथार्थ हो त्यसलाई स्वीकार गर्ने पुरुषार्थ समेत हुनुपर्दछ र म त्यही मात्र गर्दैछु ।

‘म आफैँले अघिल्लो पटकको स्थानीय निर्वाचनमा गरेको वाचा, घर घर मतदातालाई बाँडेको घोषणापत्र बमोजिम काम नगरेको कारणले यस निर्वाचनमा आफूले मेयर पदको आकांक्षा राखी चुनावमा प्रतिस्पर्धामा उत्रन नमिल्ने समीक्षा गरेको छु तसर्थ यस स्थानीय निर्वाचनमा रन्जुको उम्मेदवारी रहने छैन। तर, मैले हालको स्थानीय निर्वाचनमा प्रतिस्पर्धा नगर्ने निर्णय गरिरहँदा धेरै जनाले रन्जु दर्शनाले राजनीति छोडेको भनेर आकलन गर्नुहुन्छ होला। यो साँचो होइन ! स्थानीय तहको राजनीतिमा समुदाय, स्थानीय सँग निकटको सम्बन्ध हुनै पर्छ । मेरो सक्रियता राष्ट्रिय मुद्दा, विषय, पार्टीको राजनीतिमा बढी व्यतीत भएको छ यसर्थ यिनै सक्रियता अनुसारको कदममा म अघि बढ्ने छु।’

मैले सुरु गरेको राजनीतिमा चुनावमा बढी मत ल्याएर विजय हासिल गरेर मात्र हुँदैन यो राजनीतिमा त राजनीतिक सु(संस्कार स्थापना गर्ने कुरामा म विश्वास गर्दछु, र त्यही मान्यतामा मेरो यो कदम आधारित छ। धेरै शुभचिन्तक, साथीहरुले यस स्थानीय निर्वाचनमा उठ्नुस् भनिरहनु भएता पनि म यो यथार्थ र परिस्थितिलाई खुल्ला मनले स्वीकार गरी पूर्ण सशक्त रूपमा राजनीतिक यात्रा अघि बढाउने घोषणा गर्दछु।