
कपिलवस्तु, ८ वैशाख । देशैभर नेकपा एमालेप्रति तीव्र आकर्षण देखिएको छ ।
यसै क्रममा कपिलवस्तुमा काँग्रेसका क्षेत्रीय सचिव र वडा अध्यक्ष, वडा सदस्यसहित २५० जना नेकपा एमालेमा प्रबेश गरेका छन् ।
नेपाली काँग्रेस कपिलवस्तुका प्रभावशाली युवा नेतासहितको टोली एमालेमा प्रवेश गरेको हो ।
यससँगै कांग्रेसलाई बुद्धभूमि र महाराजगञ्ज नगरपालिकामा हुने स्थानीय तहको निर्वाचनमा सकस हुने अनुमान गरिएको छ ।
नेपाली काँग्रेसको निर्वाचन क्षेत्र नं. २ का सचिव गंगेशनाथ तिवारी, महाराजगञ्ज नगरपालिका वडा न.ं ११ का वडाध्यक्ष जगदिश तिवारी, वडा सदस्य रामपति यादव, वनसपति कोरी लगायत २५० जना नेकपा एमाले पार्टीमा प्रवेश गरेका हुन् ।
युवा नेता गंगेशनाथ तिवारीको महाराजगञ्ज नगरपालिकामा मात्र नभई बुद्धभूमि नगरपालिकाको वडा नं. ६,७ र ८ मा समेत प्रभाव रहेको छ ।
उनीहरुलाई स्वागत गर्न एमाले नेता तथा संघीय सांसद वृजेश कुमार गुप्ता, प्रदेश सचिवालय सदस्य झविलाल पोख्रेल, महाराजगञ्जका एमाले नेता रामदास चौधरी महाराजगञ्ज निर्वाचन सम्पर्क कार्यालयमा पुगेका थिए ।
प्रवेश कार्यक्रममा बोल्दै नेता गुप्ताले मधेशको विकासको लागि एमालेका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे । नेता गुप्ताले एमालेप्रति मधेशमा जनलहर बढेको बताउँदै कपिलवस्तुमा एमालेले सबैभन्दा धेरै सिट जित्ने दाबी गरे ।
कार्यक्रममा बोल्दै एमाले प्रदेश सचिवालय सदस्य झविलाल पोख्रेलले कपिलवस्तुमा एमाले पहिलो पार्टी हुने बताए ।
कार्यक्रममा एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा, शिवराज नगरपालिका नगरप्रमुख नेत्रराज अधिकारी, एमाले महाराजगञ्ज अध्यक्ष निजामुद्धीन खान, युवा नेता रामदास चौधरीले जनतालाई सूर्य चिन्हमा मतदान गर्न आग्रह गरेका थिए । यस अघि संघीय सांसद वृजेश कुमार गुप्ता आफ्ना १० हजार कार्यकर्ताका साथ एमाले प्रवेश गरेका थिए ।
गुप्तासँगै लुम्बिनी प्रदेश सभा सदस्य धर्मबहादुरलाल श्रीवास्तव, कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख रामदास गुप्ता, पूर्व उपप्रमुख वासुदेव कशौधन, कपिलवस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्ष सुदिप पौडेल, वडा नं. ४ का वडाध्यक्ष रवीन्द्र त्रिपाठी, वडा नं. १२ का वडाध्यक्ष ओमप्रकाश पाण्डे, बुद्धभूमि नगरपालिका वडा नं. ६ का वडाध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका वडा नं. ८ का अध्यक्ष सहवुदिन मुसलमान र खेमराज शर्मा एमाले प्रवेश गरेका थिए ।
त्यस्तै जिल्लाको वहादुरगञ्जबाट जसपाका प्रभावशाली नेता मंगल गुप्ता र कृष्णनगरका नेपाली कांग्रेसका नेता कुनाल शाहसहित हजारौं कार्यकर्ता एमाले प्रवेश गरिसकेका छन् । एमालेप्रति जनताको विश्वासले गर्दा कपिलवस्तु एमालेको लालकिल्ला भएको जिल्ला अध्यक्ष डम्मर शर्माले बताए ।















प्रतिक्रिया