४ कार्तिक २०८३, बुधबार

चितवनमा स्वाइन फ्लुबाट सबै बचे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

swine_fluचितवन, ११ वैशाख । राजधानी र जाजरकोटमा स्वाइन फ्लुका कारण बिरामीको मृत्यु हँुदै गर्दा भयावह रुपमा फैलिएको यो रोगबाट यहाँका बासिन्दा भने बच्न सफल भएका छन् ।

गत माघ दोस्रो सातादेखि फैलिन थालेको यो सङ्क्रमण फागुन अन्तिमसम्म पुग्दा ज्यादै भयावह भएको थियो । क्रमशः बिरामीको सङ्ख्यामा कमी आएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसी स्वास्थ्य परीक्षणका लागि आउने बिरामी दैनिक २५÷३० जनाबाट घटेर हाल तीन÷चार जनामा झरेको बताउनुहुन्छ ।

पहिलेका नमुनाका कारण सङ्ख्या थपिँदै गए पनि सङ्ख्यामा निकै कमी आएको छ । जिल्लामा उपचारका लागि आएकामध्येबाट नमुना परीक्षणका लागि पठाइएकाबाट १८५ जनामा स्वाइन फ्लु प्रमाणित भएको छ । अठार जनाको नतिजा आउन बाँकी छ । तीमध्ये १५६ सङ्क्रमित चितवनकै रहेको केसीले बताउनुभयो । भरतपुर अस्पतालका डा भोजराज अधिकारी जिल्लामा मृत्यु नभएको, थप उपचारका लागि पठाउनु नपरेको र पुनः परीक्षणका लागि आउँदा बिरामी राम्रो निको भएको बताउनुहुन्छ ।

जिल्लामा आउने स्वाइन फ्लुका सम्भावित बिरामीको स्वास्थ्य परीक्षण भरतपुर अस्पतालमा मात्र हुँदै आएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विजय पौडेल सरुवा रोग नियन्त्रण र व्यवस्थापनमा भरतपुर अस्पताल सक्षम भएकै कारण बिरामीको मृत्यु हुन नपाएको बताउनुहुन्छ ।

जिल्लामा समुदायको चेतनास्तर बढी भएको र सरुवा रोगसँग लड्न सक्ने प्रतिरक्षा शक्ति चितवनका बासिन्दामा बढी भएकाले पनि उपचार सहज भएको उहाँले बताउनुभयो । यसअघि डेङ्गो, निमोनिया जस्ता रोग नियन्त्रणमा पनि चितवन सफल भएको उहाँको भनाइ छ । अस्पतालमा मेडिकल विभागमा मात्र १३ र बाल विभागमा चार अनुभवी विशेषज्ञ चिकित्सक हुनु, चिकित्सक र स्वास्थ्यकर्मीलाई एक हप्तासम्म स्वाइन फ्लु रोगका विषयमा प्रशिक्षण दिइनु, अस्पतालमा सघन उपचार कक्ष हुनु, विशेषज्ञ चिकित्सकमा सरुवा रोग नियन्त्रणसम्बन्धी अनुभव हुनु, बिरामी रोगका बारेमा बुझाउन सक्नुलगायत कारण मानवीय क्षति नभई रोग नियन्त्रणका क्रममा ल्याउन सकेको मेडिकल सुपरिटेन्डेन्ट डा पौडेलले बताउनुभयो ।

कुनै पनि सरुवा रोग सुरुमा चितवनमा देखिने गरेको र सरकारी अस्पताललाई सक्षम बनाउन सक्दा जनताले लाभ लिन सक्ने उहाँले बताउनुभयो । छिमेकी देशबाट चितवन हुँदै आवतजावत बढी हुने र चितवनसहित सीमा क्षेत्रमा रहेका जिल्लाबाट बिरामी सुरुमा भरतपुर अस्पताल आउने क्रम पनि बढी छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख नरहरि चापागाईं प्रचार अभियान व्यापक बनाएपछि सुरुकै अवस्थामा बिरामी अस्पताल आउनाले पनि उपचार पद्धति सहज बनेको बताउनुहुन्छ । शङ्का लाग्नासाथ बिरामी आउनाले समयमा नै उपचार सम्भव भएको बताउँदै उहाँले अस्पताल, चिकित्सक, स्वास्थ्यकर्मी, सर्वसाधारणलगायत सरोकार भएकाहरुको संयुक्त प्रयासका कारण पनि रोग नियन्त्रण गर्न सफल भएको बताउनुभयो । रासस