
इटहरी, २७ चैत । इटहरीमा जारी १२औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि मोरङको सगरमाथा युथ क्लबले चुमेको छ ।
शनिबार विभागीय टीम त्रिभुवन आर्मी क्लब र सगरमाथा युथ क्लब मोरङबीच भएको खेलमा आर्मीलाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सगरमाथाले उपाधि चुमेको हो ।
खेल अवधिभर दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा आर्मीका तर्फबाट टेकबहादुर बुढाथोकी, विकास खवास र विवेक बस्नेतले गोल गरे ।
यस्तै, आर्मीका गौतम श्रेष्ठले प्रहार गरेको प्रहार सगरमाथाका गोल किप्परले रोके । यस्तै, आर्मीका सन्तोष तामाङको प्रहार पोस्ट बाहिर गएको थियो ।
बिजेता सगरमाथा युथ क्लबले नगद सात लाख रुपैयाँ र ट्रफी हात पारेको छ भने उपबिजेता हुने त्रिभुवन आर्मी क्लबले नगद तीन लाख ५० हजार रुपैयाँ पाएको छ । बिजेतालाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पुरस्कार वितरण गरेका छन् ।















प्रतिक्रिया