२ कार्तिक २०८३, सोमबार

किएभ विश्वव्यापी लोकतन्त्रको राजधानी बनेको युक्रेनका राष्ट्रपति जेलेन्स्कीको दाबी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युक्रेन, २३ चैत । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको राजधानी किएभ विश्वव्यापी लोकतन्त्रको समेत राजधानी बनेको बताएका छन् ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई भर्चुअल सम्बोधन गर्दै उनले युरोपमा सबैका लागि स्वतन्त्रताको सङ्घर्षको राजधानी किएभ भएको बताएका हुन् । उनले संयुक्त राष्ट्रसंघ अन्तर्गत रहेको सुरक्षा परिषदले आफ्नो कार्यादेश अनुसार काम गर्न नसकेको भन्दै विश्वमा सुरक्षा नभएको जिकिर गरे ।

जेलेन्स्कीले रुसलाई सुरक्षा परिषद्बाट हटाउन समेत माग गरे । संयुक्त राष्ट्रसंघ र अन्य सबै अन्तर्राष्ट्रिय निकायमा रुसले भाग लिएर तिनीहरुलाई बदनाम गरेको उनको भनाइ छ । सुरक्षा परिषद बैठकमा युक्रेनमा रुसले गरेका आक्रमणको निन्दा गरिएको थियो। अमेरिकाले रुसलाई राष्ट्र संघको मानवअधिकार परिषदबाट हटाउन फेरि माग गरेको छ ।

बैठकमा रुसी आक्रमणको आलोचना नगर्ने चीनले नागरिकको मृत्युको रिपोर्टले धेरै विचलित भएको टिप्पणी गरेको छ । तर कुनै पनि आरोप प्रमाणित तथ्यमा आधारित हुनुपर्ने उसको भनाइ छ । सम्बोधनका क्रममा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसी सेनाले बुचा शहरमा गरेको अत्याचारको फेहरिस्त पनि प्रस्तुत गरेका थिए । रुसी सेनाले बुचा शहर छाडेपछि नागरिक हत्याका प्रमाणहरू बढ्दै गएका छन् ।

बुचाका मेयरले शहरमा ३ सय जनाको शव सामूहिक चिहानमा गाडिएको र सडक शवले भरिएको बताएका छन् । राष्ट्रसंघमा रुसका राजदूतले भने बुचाका सडकमा शवहरू फेला परेको दाबी स्वीकार गरेका छन् । एजेन्सी