२ कार्तिक २०८३, सोमबार

खुला दोहोरी गीत प्रतियोगिता सम्पन्न, नगरकोट दोहोरी साँझ बन्यो पहिलो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । विभिन्न काठमाडौंको ठमेलस्थित नगरकोट दोहोरी साँझ राष्ट्रिय रनिङ सिल्ड खुला दोहोरी गीत प्रतियोगितामा उत्कृष्ट भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको ‘छैटौं टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता, २०७८’ मा विभिन्न ६० वटा टोलीलाई उछिन्दै नगरकोट दोहोरी साँझ उत्कृष्ट भएको हो । प्रतियोगितामा मुलुकभरका ४५ वटा भन्दा बढी जिल्लाबाट विभिन्न ६१ वटा टोली सहभागी भएका थिए ।

चैत १६ गतेदेखि काठमाडौंको भृकुटीमण्डप बँगैचामा यो प्रतियोगिता सुरु भएको थियो । उत्कृष्ट चयनसहित पुरस्कार प्रदान गर्दै आइतबार अबेर यो प्रतियोगिता सम्पन्न भएको हो ।

खुला प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा नगरकोट दोहोरी र गामबेसी दोहोरी साँझबीच प्रतिस्पर्धा भएको थियो । जसमा गामबेसी दोहोरी साँझलाई पछि पार्दै नगरकोट दोहोरी साँझको टोली जीवन सिग्देल र अस्मिता डल्लाकोटी उत्कृष्ट भए ।

उनीहरूले लोक दोहोरीतर्फको राष्ट्रिय रनिङ शिल्डसँगै २ लाख ५० हजार रूपैयाँ, पदक र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतिस्प्र्धा निकै कडा भए पनि आफूहरूले आत्म विश्वासका साथ प्रस्तुत गरेको सशक्त तुक्काका कारण उत्कृष्ट भएको जीवन र अस्मिताको प्रतिक्रिया छ ।

यस्तै यो राष्ट्रिय प्रतियोगितामा गामबेसी दोहोरी साँझ दोस्रो भयो । गामबेसी दोहोरी साँझ काठमाडौंका अर्जुन खड्का र शान्ता ओलीदे दोस्रो पुस्कारस्वरूप ट्रफी, पदक र १ लाख ५० हजार रूपैयाँ प्राप्त गरेका छन् ।

यस्तै सो प्रतियोगितामा दुई वटा समूहले तेस्रो स्थान हासिल गरेका छन् । अन्तिम प्रतिस्पर्धामा उत्रिएर पहिलो र दोस्रो हुनेसँग भिडेका बाँकी दुई टोली काठमाडौंको क्विन रोदी क्लब र लुम्बिनी प्रदेश लोक तथा दोहोरी गीत प्रतिष्ठान तेस्रो भएका हुन् ।

ति टोलीले १ लाख रूपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेका छन् । क्विन रोदी क्लबका श्याम राना र हरिमायाँ रायमाझीसँगै लुम्बिनी प्रदेश लोक तथा दोहोरी गीत प्रतिष्ठानका बिक्रमबाबु बिश्वकर्मा र लक्ष्मी बस्नेतले तेस्रो स्थान हासिल गरेका हुन् ।

आयोजक राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, संरक्षक पृथ्बी थकालीसहित पूर्वध्यक्ष तथा अन्य अतिथिले उनीहरूलाई कार्यक्रममा पुरस्कार प्रदान गरे । शनिबार नै कार्यक्रम सक्ने भनिए पनि शनिबार प्रतिस्पर्धा नसकिएपछि आइतबार उत्कृष्ट १६ बीच क्वाटर फाइनल, सेमी फाइनल हुँदै फाइनल खेल भएको थियो ।

यसै गरी यस प्रतियोगितामा समुन खड्का, राजु लामिछानेले उत्कृष्ट पुरुष कलाकारको तथा पुजा पुन र अर्चना चापागाईंले उत्कृष्ट महिला कलाकारको पुरस्कार जिते । उनीहरूले पुरस्कार स्वरूप जनही १० हजार रूपैयाँ र प्रमाणपत्र पाए । यस्तै अनुशाशित टीमको पुरस्कार ओखलढुङ्गा लोक दोहोरी प्रतिष्ठान टीमले प्राप्त गरेको छ । उनीहरूले प्रमाणपत्र र १० हजार रूपैयाँ पाए ।

प्रतियोगितामा निकै राम्रा गीत गाएका नव कलाकार निशान्त विक र दिल कुमारी बिकले नव प्रतिभा प्रोत्साहन पुरस्कारस्वरूप जनही ५ हजार रूपैयाँ र प्रमाणपत्र पाए । यसै गरी भद्रकाली आमा समूहलाई प्रोत्साहन पुरस्कारस्वरूप ५ हजार रूपैयाँ र प्रमाणपत्र प्रदान गरिएको बताइएको छ ।

प्रतियोगितामा प्रतिष्ठानका पूर्वध्यक्ष पुरुषोत्तम न्यौपानेको संयोजकत्वमा पूर्वध्यक्ष, अध्यक्ष तथा अहिलेका पुस्ताका चर्चित लोक दोहोरी गायकसहित १० जनाको निर्णायक टोलीले ६१ टोलीबाट विभिन्न चरणको दोहोरी गायनपश्चात् उत्कृष्ट टीम तथा कलाकारको चयन गरेको हो ।