काठमाडौं, १० वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह निर्मल निवासमा एक्लै दिन काटिरहेका छन् । पत्नी कोमल शाहसहित परिवारका सदस्य उपचारका लागि भारतको नयाँदिल्लीमा रहेपछि पूर्वराजा निर्मल निवासमा एक्लै बस्न बाध्य छन् ।
बुहारी हिमानी शाह, नाति र नातिनी पनि सबै नयाँदिल्लीमा छन् । ‘पूर्वराजालाई नाति र नातिनीसँग दिन बिताउन सजिलो हुन्थ्यो’, स्रोतले भन्यो, ‘अहिले एक्लै हुनुहुन्छ । नरमाइलो लागेको हुनुपर्छ ।’
पूर्वमुमा बडामहारानीसमेत रहेकी आमा रत्नराज्य लक्ष्मी शाहलाई कुशेऔँसीका दिन ‘आमाको मुख’ हेर्न काठमाडौं आएका पूर्वराजा शाह नयाँदिल्ली फिर्ता भएका छैनन् ।
‘पूर्वराजा ज्ञानेन्द्र शाह तत्काल नयाँदिल्ली जाने कार्यक्रम छैन,’ स्रोतले भन्यो, ‘नयाँदिल्लीमा उपचाररत पूर्वरानी कोमलको शल्यक्रियाको टुंगो लागेपछि त्यसतर्फ जाने कि नजाने भन्ने विचार गरिबक्सनेछ ।’
पूर्वराजा शाहका सहयोगी फणिराज पाठकले पनि पूर्वराजा निर्मल निवासमा रहेको बताए । ‘पूर्वराजा नयाँदिल्ली तत्काल जाने कार्यक्रम रहेको जानकारी छैन,’ पाठकले भने ।
पूर्वराजा शाह पत्नी कोमलको उपचारका लागि सँगै नयाँदिल्ली गएको सौर्य दैनिकले छापेको छ । उनी ४ वैशाखमा स्वदेश फिर्ता भएका हुन् । कुशेऔँसीभन्दा एकदिनअघि स्वदेश आएका पूर्वराजा शाह फेरि नयाँदिल्ली फिर्ता भएको समाचार पनि प्रकाशित भएका थिए । ती समाचारप्रति निर्मल निवास बेखुसी छ ।
‘हुँदै नभएको समाचार पत्रपत्रिकामा कसरी आयो ?’ निर्मल निवास स्रोतले असन्तुष्टि जनाउँदै भन्यो, ‘सञ्चारमध्यमले समाचार दिँदा सत्यतथ्य दिनुपर्छ ।’
काठमाडौं आएका पूर्वराजा शाहले कुशेऔँसीका दिन महेन्द्रमञ्जिल पुगेर हिन्दु परम्पराअनुसार ‘आमाको मुख’ हेरेका थिए ।
८८ वर्षीया आमा रत्न हिँडडुलसमेत गर्न नसक्ने अवस्थामा रहेको स्रोतको भनाइ छ । ‘आमाको स्वास्थ्य र हेरचाहलाई लिएर पूर्वराजा शाह अत्यन्तै चिन्तित हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘वृद्धा अवस्था भएर पनि होला पूर्वबडामहारानी रत्नराज्य लक्ष्मी शाह हिँडडुल गर्न सक्नुहुन्न । सहयोगीहरूले साथ दिनुपर्छ ।’















प्रतिक्रिया