७ कार्तिक २०८३, शनिबार

स्थानीय चुनावमा एमालेः अथक अध्यक्ष ओली र सक्रिय नेताहरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत। ‘सत्ता गठबन्धनसँग आत्तिनु पर्दैन, उनीहरू एक–एक किलोका ५ वटा ढक हुन्, एमाले एक्लै एक क्विन्टल हो’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले यसो भन्दा कार्यकर्ता पंक्तिमा गडड ताली बज्यो।

दुर्गा प्रसाईले दुई अर्ब लगानीमा भक्तपुरको सूर्यविनायकमा खोलेको तरकारी बजारको उद्घाटनका क्रममा ओलीले यत्ति मात्र भनेनन् १५ हजार माओवादीका पूर्वलडाकूसहित २२ हजार युवाको अभिभावकत्व पनि ग्रहण गरे।

स्थानीय चुनाव नजिकिएका बेला फुर्सदमा नरहेका ओलीले उक्त सम्बोधन सक्नासाथ एमालेका देशैभरका पालिका प्रमुख नेतासँग भर्चुअल सम्बोधन गरे। उनले भने,‘एमालेका राम्रा कामको प्रचार लिएर जनतामा जाऔं, हामी एक्लै चुनाव जितेर फर्किनेछौं।’

एमालेलाई चौतर्फी घेराबन्दी गरे पनि अध्यक्ष ओलीको आत्मबल, नेताहरूको सक्रियता र कार्यकर्ताको उत्साहले स्थानीय चुनावमा सबैभन्दा ठूलो दलका रुपमा जित निकाल्न सक्ने मार्गचित्र कोरेको कतिपय बताउँछन्। उपाध्यक्ष विष्णु पौडेल भन्छन्,‘एमालेले ६० प्रतिशत स्थानीय तहमा जित निकाल्छ। गठबन्धनको कुनै औचित्य छैन, यो कानुन र न्यायालयको दुरुपयोग गरेर बनेको हो।’

एमालेको लिगेसी नै जनता रहेकोमा ढुक्क रहेका नेताहरूको सक्रियता र अथक रहेका अध्यक्ष ओलीको अभियान चुनावसम्म नै जारी रहने कार्यसूची बनेको छ। काठमाडौंका विभिन्न कार्यक्रममा मात्र होइन, कपिलबस्तुदेखि रुपन्देहीसम्म यहि साता मात्र ओलीलगायतका नेता सक्रिय रहेका थिए।

केही समयमा अध्यक्ष ओलीसहितका नेताहरू खोटाङको बृहत आम सभामा सम्बोधनका लागि पुग्दैछन्। ‘त्यसको तयारी पूरा भइसकेको छ। खोटाङ एमालेमय हुनेछ’, स्थानीय नेता भन्छन्,‘ओली नेतृत्वको सरकारले गरेका विकासका काम एमालेको चुनावी मुद्दामात्र होइन, जनताले विश्वास गर्ने आधार समेत बनेको छ।’

यसै महिनाभित्र पनि एमालेमा कार्यकर्ता छिर्ने लहर नै चलेको छ। ‘रंगेलीमा माओवादी छाडेर एमालेतिर आएका मेयर हुन् वा वीरगञ्ज महानगरपालिकाका मेयर, पालिकाका कतिपय प्रमुख उपप्रमुख पनि आउने क्रम जारी छ’, एक नेता भन्छन्,‘यो क्रम निरन्तर चलिरहन्छ।’

पार्टी अझ विशाल भएको तथ्यलाई टेकेका कारण नै अध्यक्ष ओलीले भन्ने गरेका छन्,‘एमालेसँग एक्लाएक्लै लड्ने हैसियत कसैसँग छैन, उनीहरू गठबन्धन गरेर नै आउन्।’ एमाले किन बलियो छ भन्ने उदाहरण पछिल्ला दिनमा पूर्वमन्त्री बृजेश गुप्तासहितका हजारौं व्यक्तिको पार्टी प्रवेश, पूर्वमन्त्री जगतबहादुर विश्वकर्मालगायत पनि फर्किनु रहेको केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख विष्णु रिजाल बताउँछन्।

एमाले विघटित नेकपाको निरन्तरताका रुपमा अगाडि बढेको तथ्यलाई राख्दै अध्यक्ष ओलीले बुधबार मात्र भनेका थिए,‘गठबन्धन उनीहरूको छनोट होइन, बाध्यता हो। बाघ देख्यो भने हरिण कुद्छ। यो हरिणको कुनै छनोट होइन, बाध्यता हो। नत्र त बाघले खाइहाल्छ। एमालेलाई अगाडि देखेपछि गठबन्धन गर्नुपरेन त? तर, यसले हामीलाई फरक पार्दैन। दिनदिनै हजारौं मानिस एमालेमा प्रवेश गरिरहेका छन्। हाम्रो विजय सुननिश्तित छ।’