
काठमाडौं, १७ चैत । ‘छैटौं टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता–२०७८’ बुधबारदेखि काठमाडौंको भृकुटीमण्डप बँगौचामा शुरू भएको छ ।
अर्थसचिव मधुकर मरासिनी र वरिष्ट लोक गायक कुमार बस्नेतले प्रतियोगिताको बुधबार उद्घाटन गरेका छन् ।
बुधबारदेखि चार दिनसम्म जारी रहने यो प्रतियोगितामा राजधानी र मोफसलबाट ६१ वटा टोलीले भाग लिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताए । दर्शकका लागि प्रवेश निःशुल्क गरिएको यो प्रतियोगितामा उत्कृष्ट हुने टोलीले लोक दोहोरीतर्फको राष्ट्रिय रनिङ शिल्डसँगै पदक, २ लाख ५० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गर्ने पनि उनले जानकारी दिए ।

यस्तै दोस्रो हुने टोलीले ट्रफी, पदक र १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा तेश्रो हुने टोलीले नगद १ लाख रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र र सान्त्वना हुने टोलीले ५० हजार रुपैयाँसहित ट्रफी, पदक, प्रमात्रणपत्र प्राप्त गर्ने छन् ।
उनका अनुसार यो प्रतियोगितामा उत्कृष्ट हुने दुई जना गायक र दुई जना गायिकालाई जनही १० हजार रुपैयाँसहित उत्कृष्ट गायक गायिकाको पुरस्कार प्रदान गरिने छ भने उत्कृष्ट भेषभुषा र उत्कृष्ट अनुसासन टोलीले पनि १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

सो कार्यक्रममा दोहोरीसँगै खानाहरु विभिन्न स्टल पनि राखिएकाले दर्शकले खानाको स्वादसँगै दोहोरी सुन्न सक्ने अध्यक्ष बिजीले बताए । यस पटकको दोहोरी गीत प्रतियोगिता भव्य र सभ्य हुने पनि उनले बताए ।
वुधबारको उद्घाटन समारोहमा गायक प्रकाश सपुतले पीर गीत गाउँदा दर्शकले तालीले साथ दिएका थिए । यस्तै कुलेन्द्र बिक, रामजी खाँडलगायतका विभिन्न कलाकारले प्रस्तुत गरेका गीतहरुले पनि दर्शक नचायो । कार्यक्रममा विभिन्न कलाकारहरुले आकर्षक लोक नृत्य प्रस्तुत गरेका थिए ।

बुधबार उद्घाटन भएको यो प्रतियोगितामा बिहिबार बिहान नौ बजेबाटै दोहोरी गायन टोली बीच गायन प्रतिस्पर्धा हुने भएको छ । बिहान ९ बजे देखि बेलुका ७ बजेसम्म जारी रहने यो प्रतियोगिताको समापन शनिबार बेलुका हुने छ ।
















प्रतिक्रिया