१ कार्तिक २०८३, आइतबार

नेकोस सेभेन ए साइड फुटबल प्रतियोगिता बुधबारदेखि शुरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १७ चैत । नेपाल खेलकुद महासंघ मकवानपुर जिल्ला कमिटी र भुटनदेवी युवा क्लवको संयुक्त आयोजनामा खुल्ला सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता बुधबारदेखि हेटौंडामा शुरू भएको छ ।

२४ वटा टीमको सहभागिता रहेको प्रतियोगिताको बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे । चार दिनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५० हजार रूपैयाँ र उपविजेताले २६ हजार रूपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा विभिन्न व्यक्तिगत विधामा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कृत गरिने बताइएको छ ।

प्रतियोगिताको पहिलो दिन सात वटा खेल सम्पन्न भएका छन् । उद्घाटन खेलमा गोर्खा ब्वाइजले भुटनदेवी युवा क्लबलाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्यो । त्यसैगरी आरआरएफसीले ७ नम्बर फुटबल टीमलाई १–० हरायो भने न्यू कम्बाइन क्लबले पदमपोखरी फुटबल ट्रेनिङ सेन्टरलाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।

त्यस्तै रियल स्टार युवा क्लब हर्नामाडी कमलदेवी युवा क्लबसँग शून्यका विरुद्ध १ गोलले पराजित हुन पुग्यो । बुधबार सम्पन्न बाँकी सबै खेलको नतिजाका लागि पेनाल्टीको साहारा लिनु परेको थियो । न्यू मर्निङ युवा क्लबले सिमलटार युवा क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्यो ।

त्यसैगरी शिखर क्लब थाहा नगरले हेटौंडा फुटबल एकेडेमीलाई २–० ले पराजित गर्यो भने शान्ति क्लबले फ्रेन्च क्लब बारालाई सडेन डेथमा ६–५ गोल अन्तरले पराजित गर्यो । प्रतियोगिता अन्तर्गत आज बिहीबार पनि सात वटै खेल सञ्चालन गरिने महासंघका प्रचार विभाग प्रमुख एवम् प्रवक्ता उमेश केसीले जानकारी दिएका छन् ।