२८ आश्विन २०८३, बुधबार

लभ ‘ब्रेकअप’ भएपछि ट्याटु पनि मेटाउँछन युवाहरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tattoo-kathmanduकाठमाडौ । कुनै बेला प्रेममा चुर्लुम्म डुबेर प्रेमिकाको नाम आफ्नो छातीमा खोपाउन पुगेका रमेश श्रेष्ठलाई अहिले त्यो नाम मेटाउने हुटहुटी चलेको छ ।

उनले भने, “त्यतिबेला आवेशमा आएर उनलाई आफ्नो प्रेम दर्शाउन नाम खोपाएको थिएँ, तर अहिले आएर उनीसँग ‘ब्रेकअप’ भइसकेको छ ।” अहिले अर्कैलाई प्रेमिका बनाउने तरखरमा लागेका उनलाई पहिलाको नामले भाँजो हाल्ने हो कि भन्ने चिन्ताले सताएको छ ।

किशोरावस्थामा केही पनि विचार नगरी पे्रमिकाको नाम खोपाएकाले पनि अहिले उनलाई समस्या परेको हो । उनी भन्छन्, “अब यो नाम नहटाए त बन्न लागेको ‘गर्लफ्रेन्ड’ भड्की हाल्छे नी, त्यसैले पनि यो नाम नमेटाई भाछैन ।”

दरबारमार्गस्थित याक एन्ड यति होटलमा चलिरहेको चौथो अन्तर्राष्ट्रिय ट्याटु सम्मेलनमा भेटिएका रमेश पहिलाको नामको ठाउँमा अब कस्तो आकृति बनाउन सकिन्छ भनेर ट्याटु कलाकारसँग सल्लाह लिँदै थिए ।

तीन दिने सो सम्मेलनमा आफूले पहिले बनाएको प्रेमिकाको मुहार चित्रलाई मेटाउन आइपुगेका विकल गिरीले पनि जतिसक्दो छिटो सो चित्र छोपिदिन ट्याटु कलाकारलाई आग्रह गर्दै थिए ।

मुटु नजिकै कोखामा बनाएको उक्त चित्रका कारण उनी तनावमा छन् । प्रेमसम्बन्धमा छँदा त्यही अनमोल थियो, तर अहिले त्यही चित्र उनको मुटुको काँडा बनेको छ ।

उनले भने, “म जतिबेला आफ्नो शरीर हेर्छु उनले मलाई गरेको धोकालाई सम्झन्छु, मैले त उनलाई आफ्नो जीवन नै सुम्पिएको थिएँ, तर उनले मलाई छाडिदिइन् । अब म उनलाई र उनको सम्झनाबाट टाढिन चाहन्छु ।”

कोही भने आफूबाट सदाका लागि टाढिन लागेकी प्रेमिकाको नाम आफ्नो जीवनभर शरीरमा कुँदाउन पनि पछि नपर्ने प्रेमी पनि देखिए ।

भारतमा रक्त क्यान्सरको उपचार गराइरहेकी आफ्नी प्रेमिकाप्रति माया दर्साउन समीरले उनको नाम शरीरमा खोपाए । उनी भन्छन्, “उनी यो संसारमा रहे पनि नरहे पनि म सधैँ उनलाई माया गरिरहनेछु, यही कुराको प्रमाण हो यो ट्याटु जुन मैले आफ्नो शरीरमा खोपाएको छु ।”

उनको शरीरमा ट्याटु खोपिदिएका कलाकार सञ्जय खड्गीले भने, “कोही आवेशमा आएर नाम खोपाउँछन् र पछि पछुताउँछन्, तर यसरी मृत्युको मुखमा पुगेकी प्रेमिकाको नाम खोपाउने व्यक्तिको प्रेमलाई हामीले मान्नै पर्छ ।”

ट्याटु नेपाल प्रालिको आयोजनामा चलेको सो सम्मेलनमा ट्याटुका बारेमा जान्ने र यस प्रकारको ट्याटु खोपेकाहरू मेटाउने वा नयाँ बनाउनेको घुइँचो लागेको थियो ।

taitoo

प्रालिका निर्देशक विजय श्रेष्ठले भने, ‘‘चौथो पटकको यो सम्मेलनमा पनि ट्याटुको बारेमा जान्ने र खोपाउन आउनेको कमी छैन । नेपालमा पनि बिस्तारै ट्याटुसम्बन्धी जिज्ञासा राख्ने र खोपाउन चाहने बढ्दै छन् ।”

ट्याटु खोपाएकोलाई समाजले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आएको बताउँदै उनले पहिले–पहिले ट्याटु खोपाएको देख्ने बित्तिकै मान्छेहरू उसलाई ट्यापे भन्ने गरेको पनि सुनाए । ट्याटु बनाउँदा छालाको क्यान्सर हुन्छ भन्ने गलत धारणा रहेकोप्रति उनले भने, “हामीले ट्याटु बनाउन प्रयोग गर्ने सम्पूर्ण सामान बाहिरी मुलुकबाट मगाएका हुन्छौँ, राम्ररी हेरचाह नगरेमा ‘इन्फेक्सन’ भने हुन सक्छ । त्यसमा भने ट्याटु बनाउँदा नै उनीहरूलाई हामीले जानकारी दिएका हुन्छौँ ।”

उक्त सम्मेलनमा विभिन्न २० मुलुकका ८० जना ट्याटु कलाकारको सहभागिता रहेको थियो । नेपालमा विभिन्न समयमा आयोजना गरिने यस्ता ट्याटु सम्मेलनले विदेशीलाई नेपालका बारेमा र नेपाली संस्कृतिको बारेमा जानकारी गराउने उद्देश्य रहेको उनले बताए ।

रासस