३० आश्विन २०८३, शुक्रबार

कांग्रेस बैठक : गठबन्धनको पक्षमा केन्द्रीय नेता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । नेपाली कांग्रेसका अधिकांश नेताहरूले स्थानीय निर्वाचनमा गठबन्धन अनिवार्य भएको बताएका छन् ।

गठबन्धन नगरिए कांग्रेसविरुद्ध अन्य दलको गठबन्धन हुने उनीहरूको निष्कर्ष छ । उनीहरूका अनुसार गठबन्धन गर्दा भने स्थानीय आवश्यकतालाई ध्यान दिनुपर्छ । गठबन्धन अनिवार्य रहेको भन्नेमध्येका एक जना केन्द्रीय सदस्य रामहरि खतिवडाले शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा गठबन्धन नगरिए निर्वाचनमा कांग्रेस एक्लै हुने बताए ।

त्यसो भए कांग्रेसलाई निर्वाचन जित्न मुस्किल पर्ने उनको भनाइ छ। ‘अरू सबै दल मिलेर गठबन्धन हुने र कांग्रेस एक्लै हुने नहोस्’, उनले भने, ‘स्थानीय तहमा आवश्यकता र औचित्यको आधारमा गठबन्धन होस् । गठबन्धनबिना कांग्रेस एक्लै गए भने निर्वाचन जित्न मुस्किल पर्छ ।’ बैठकमा अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि गठबन्धन गर्नुपर्नेमा जोड दिए । तर, पार्टीको स्थानीय समितिहरूले गरेको आवश्यकताअनुसार मात्र गर्नुपर्ने धारणा राखे ।

गठबन्धन गर्दा पार्टीको पक्षमा परिणाम आउनुपर्ने पक्षलाई बढी ध्यान दिनुपर्ने पनि बताए । ‘गठबन्धन चाहिँदैन भन्ने होइन । चाहिन्छ । तर, स्थानीय समितिले आवश्यकता महसुस गर्नुपर्छ । र, गठबन्धन केन्द्रबाट नगरौँ, तल्ला तहबाट गरौँ’, बैठकमा पौडेलले भने, ‘गठबन्धन व्यवस्थित हुनुपर्छ । पार्टीको पक्षमा परिणाम आउने गरी गठबन्धन हुनुपर्छ ।’

केन्द्रीय सदस्य दिलमान पाख्रिनले पनि अघिल्लो पटकको स्थानीय तह निर्वाचनमा कांग्रेस कमजोर देखिएकाले गठबन्धन नभई नहुने बताएका छन् । हाल सत्तारुढ गठबन्धनमा रहेका दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग ठाउँठाउँमा गठबन्धन अनिवार्य रहेको केन्द्रीय समिति बैठकमा पाख्रिनले बताए ।

उनले भने, ‘२०७४ सालमा भएको निर्वाचनको परिणामलाई हेर्दा स्थानीय तहमा कांग्रेस कमजोर छ । गठबन्धन नगरिए अरू दलले गठबन्धन गरेर कांग्रेसलाई हराउँछ । त्यही भएर त्यहाँको परिवेश र वस्तुस्थिति हेरेर गठबन्धन गर्नुपर्छ । गठबन्धन अनिवार्य छ ।’ कांग्रेस केन्द्रीय समिति बैठकबाट स्थानीय निर्वाचनमा गठबन्धनबारे निर्णय हुनेछ । गठबन्धन पार्टीको केन्द्रीय तह कि तल्ला तहबाट गर्ने भन्ने पनि बैठकले टुंगो लाग्नेछ । अघिल्लो पटक कांग्रेस स्थानीय निर्वाचनमा दोस्रो भएको थियो।

त्यसबेला एमाले पहिलो बन्यो । पहिलो हुने भनेर निर्वाचनमा होकिएको कांग्रेसले अपेक्षाकृत नतिजा हात पार्न सकेन। त्यही भएर गठबन्धनको खाँचो कांग्रेस नेताहरूले गरेका हुन् । तर, चितवनबाट निर्वाचित केन्द्रीय सदस्य दिनेश कोइराला भने गठबन्धनको विरुद्धमा उभिएका छन्। केन्द्रीय समिति बैठकमा उनले यस पटकको निर्वाचन कांग्रेसलाई एक्लै चुनाव लड्ने उपयुक्त समय भएको बताए। नेकपा विघटन भएको र एमाले विघटन भएको अवस्थामा कांग्रेस एक्लै निर्वाचनमा जाँदा जितिने उनको दाबी छ ।

‘धेरै साथीहरूले गठबन्धनको कुरा गर्नुभएको छ। तर, यतिखेर कांग्रेस एक्लै लडेन भने कहिले लड्ने ? नेकपा फुटेका बेला, एमाले पनि फुटेका बेला छ। त्यसैले एक्लै लड्नुपर्छ भन्ने मेरो धारणा हो’, बैठकपछि कोइरालाले भने, ‘फेरि, यो गठबन्धन पवित्र छैन ।’ यदि चितवनमा पनि गठबन्धन गर्नुपरे इमान्दारीका साथ माओवादीले निःस्वार्थ कांग्रेसलाई सहयोग गर्नुपर्ने बताए। नभए चितवनमा गठबन्धन सम्भव नहुने बताए ।

यस्तै, ५ प्रदेश सभापति गठबन्धनको विपक्षमा उभिएका छन् । मधेस प्रदेशका कृष्ण यादव, गण्डकीका शुक्रराज शर्मा, लुम्बिनीका अमरसिंह पुन, कर्णालीका ललितजंग शाही र सुदूरपश्चिमका वीरबहादुर बलायर गठबन्धनको विपक्षमा उभिएका हुन् । तर, प्रदेश १ का उद्धव थापा र बाग्मती प्रदेशका इन्द्र बानियाँ भने गठबन्धनको पक्षमा उभिएका थिए ।

शुक्रबार केन्दीय समिति बैठकमा केन्द्रीय सदस्यहरू कृष्णचन्द्र नेपाली पोखरेल, मोहनबहादुर बस्नेत, कर्णबहादुर बुढा, रमा कोइराला (पौडेल), कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, नैनसिंह महर, गोविन्दबहादुर शाह, मुक्ताकुमारी यादव, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, जानकी सिंह, प्रा.डा. गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना र शान्ति परियारले पनि धारणा राखेका थिए ।

केन्द्रीय समितिको अर्को बैठक आइतबार बिहान ११ बजे बस्नेछ, आजको द नेपाल टप दैनिकमा जंग तामाङले समाचार लेखेका छन् ।