
हेटौँडा,११ चैत । नेपाल खेलकुद महासंघ (नेकोस) र बागमती प्रदेश बुद्धिचाल संघको संयुक्त आयोजनामा मकवानपुरमा हेटौँडा मेयर कप रेपिड चेस प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको पहिलो दिन शुक्रबार चार चरणका खेल सम्पन्न भए । चार चरणको समाप्तिमा फिडेमास्टर क्षितीज भण्डारी र प्रकाश नेपाल शतप्रतिशत नतिजा निकाल्दै संयुक्त अग्रता बनाउन सफल भएका छन् । उनीहरुको समान चारचार अंक भएको छ ।
चार खेलमा तीनमा जीत र एकमा बराबरीमा गरेका फिडेमास्टर रुपेश जयसवाल ३ दशमलब ५ अंक बनाउँदै अंक तालिकाको दोश्रो स्थानमा रहेका छन् ।
त्यस्तै वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोतम चौंलागाई, पूर्व राष्ट्रिय च्याम्पियन फिडेमास्टर मनिष हमाल, मकवानपुरका क्यान्डिडेट मास्टर कृष्ण थापा, झापाका राजन सुवेदी तथा सुश्रुत दाहाल, दोलखाका आशिष फुँयाल, धनुषाका शुसील चौधरी, धनकुटाका सुमन श्रेष्ठ, मकवानपुरका नविनकुमार श्रेष्ठ, चितवनका सन्तोष गौतम र रुपन्देहीका चमन गाहा मगर समानतीन–तीन अंक बनाउन सफल भए ।
पहिलो चरणमा पूर्व राष्ट्रिय महिला च्याम्पियन सिन्दीरा जोशीमाथि जित हात पारेका क्षितीजले दोश्रोमा सर्लाहीका कमल श्रेष्ठ, तेश्रोमा शुसील चौधरी तथा चौथो कृष्ण थापालाई हराए ।

त्यसैगरी प्रकाशले पहिलो चरणमा सुदेश श्रेष्ठ, दोश्रो चरणमा सर्लाहीका रविन्द्र बहादुर थापा, तेश्रो चरणमा मनिष हमाल तथा चौथो चरणमा सुश्रुत दाहालमाथि विजय प्राप्त गरे । शनिबार हुने पाँचौँ चरणको खेलमा क्षितीज र प्रकाश आमनेसामने हुनेछन् ।
तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपालीले शुक्रबारका चार खेल मध्ये एकमा हार र एकमा बराबरीमा रोकिएपछि २ दशमलब ५ अंक बनाएका छन् । तश्रो चरणमा कृष्ण थापासँग हार व्यहोरेका बद्रीलाल चौथो चरणमा पुरुषोतम चौंलागाईंसँग बराबरीमा रोकिएका हुन । बद्रीसँगै काभ्रेका खोमप्रसाद तिमिल्सना, मकवानपुरका बलराम श्रेष्ठ र सुदेश श्रेष्ठ समान २ दशमलब ५ अंक बनाउन सफल भएका छन् ।

हेटौंडा उपमहानगर पालिकाका प्रमुख हरीबहादुर महत तथा नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठले चेस गोटी चालेर औपचारिक उद्घाट्न गरेका प्रतियोगितामा ५२ जना खेलाडीको सहभागीता रहेको छ ।
विभिन्न विधामा गरी नगद २ लाख ५ हजार पुरस्कार रहेको दुई दिने प्रतियोगिता फिडेको स्विस लिग प्रणाली अनुसार ७ चरणसम्म प्रतिष्पर्धा हुने टुर्नामेन्ट चिफ आर्विटर (रेफ्री) एवम् नेपाल खेलकुद महासंघका प्रचार विभाग प्रमुख उमेश केसीले जनाएका छन् ।
















प्रतिक्रिया