३० आश्विन २०८३, शुक्रबार

स्थानीय तह निर्वाचनका लागि दुई करोड प्रति मतपत्र छापिदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि २ करोड मतपत्र छापिने भएको छ ।

यसपटकको स्थानीय तहको निर्वाचनका लागि कुल मतदाता करिब १ करोड ७७ लाख रहेकोमा सो संख्याको १० देखि १५ प्रतिशत बढी मतपत्र छाप्ने तयारी भइरहेको आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । आयोगले यसअघि मतपत्र छाप्दा मतपत्रमा प्रयोग हुने चिन्ह विवरण तथा सुरक्षण चिन्हहरू हरियो मसीले छपाइ गर्ने निर्णय गरेको थियो ।

मतपत्र छाप्नका लागि जनक शिक्षा सामग्री केन्द्रसँग छलफल प्रक्रिया अघि भइसकेको पनि आयोगले जनाएको छ । सहप्रवक्ता अर्यालका अनुसार आयोगले चैत १६ गतेदेखि मतपत्र छाप्न शुरू गर्ने छ । मतपत्र छाप्न चाहिने कागज खरिदको टेन्डर आयोगले एक महिना अघि नै गरेको थियो । आयोगले मतपत्र छपाइका लागि करिब साढे ११ करोड रुपियाँ बराबरको कागज खरिद गर्ने सम्झौता गरेको थियो ।

आयोगका अनुसार ग्यावियोनेट इन्भाइरोमेन्ट सलुसन प्रालिसँग ११ करोड ४० लाख ६२ हजार २ सय रुपियाँमा कागज खरिद गर्ने सम्झौता गरेको थियो । आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका राष्ट्रिय दलको मान्यता नपाएका ७३ दलको विभिन्न जिल्लामा रहेका उनीहरूको संगठनको चैत ६ गतेसम्म विवरण माग गरेकोमा सोको रुजु भइरहेको पनि प्रवक्ता अर्यालले बताए ।

दलको संख्याको टुंगो लागिसकेको आधारमा मतपत्र छाप्नका लागि आयोगले प्रक्रिया अघि बढाएको हो । निर्वाचनका लागि आवश्यक अन्य ५७ प्रकारका सामग्री पनि चैतको तेस्रो साताबाट प्राप्त हुने आयोगले जनाएको छ । जिल्लामै उपलब्ध हुने १५ प्रकारका सामग्री भने सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले खरिद गर्नेछन्, आजको नेपाल समाचारपत्र दैनिकमा सुनील महर्जनले समाचार लेखेका छन् ।