
काठमाडौं, ९ चैत । सत्तागठबन्धनमा रहेका दोस्रो तहका नेताहरूले विभिन्न टीका–टिप्पणी गरे पनि शीर्ष नेताहरू आ–आफ्नो पार्टीमा आन्तरिक निर्णयमार्फत चुनावी गठबन्धनको तयारीमा जुटेका छन् ।
मंगलबार बालुवाटारमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच पहिला पार्टीभित्रै सैद्धान्तिक निर्णय गराउने र सत्तासाझेदार दलबीच चुनावी गठबन्धनको गृहकार्य थाल्ने सहमति बनेको छ ।
सबै प्रमुख राजनीतिक दल स्थानीय तहको चुनावी अभियानमा होमिएका छन् । तर, गठबन्धनलाई लिएर अहिलेसम्म ठोस निर्णय भएको छैन । ‘गठबन्धनबारे आ–आफ्नो पार्टीभित्र निर्णय लिउँ र यसलाई औपचारिक छलफलमा लैजाउँला भन्ने विषयमा शीर्ष नेतृत्वबीच सहमति भएको देखिन्छ,’ देउवानिकट मानिने कांग्रेसका एक पदाधिकारीले भने, ‘माओवादी केन्द्र र एकीकृत समाजवादीका तर्फबाट गठबन्धन बनाउने निर्णय आइसकेको छ । ११ चैतमा बस्ने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले यसबारे केही निर्णय लिन्छ होला ।’
बिहान बालुवाटारमा शीर्ष भेट सकेर दिउँसो नुवाकोट पुगेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले सत्तागठबन्धनबीचको एकता स्थानीय तहको निर्वाचनसम्म कायमै रहने दाबी गरेका थिए ।
‘सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल कायम रहन्छ,’ समाजवादी प्रेस संगठन नुवाकोटले विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले भने, ‘शक्तिको उचित मूल्यांकन गर्दै वस्तुवादी भएर संयमता अपनाएर ‘अरूलाई पनि हामी, हामीलाई पनि अरू’ आवश्यक रहेको सन्देशका साथ चुनावी तालमेल गर्न लागेका छौँ,’ नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले भने, आजको नयाँ पत्रिका दैनिकमा केशवप्रसाद पाण्डेले समाचार लेखेका छन् ।















प्रतिक्रिया