७ कार्तिक २०८३, शनिबार

पर्वतारोहण सङ्घको वार्षिक साधारणसभा स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ चैत । नेपाल पर्वतारोहण सङ्घको २१ औँ वार्षिक साधारणसभा स्थगन भएको छ ।

भोलि चैत ९ गते बुधबारका लागि तय गरिएको साधारणसभा उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशलाई सम्मान गर्दै अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको सङ्घले जनाएको छ ।

सङ्घका महासचिव कुलबहादुर गुरुङले साधारणसभाको सम्पूर्ण तयारी भइसकेको अवस्थामा स्थगन गर्नु दुःखद विषय भएको बताउनुभयो । उहाँले केही व्यक्तिहरुको स्वार्थका कारण संस्थाविरुद्ध मुद्दा मामिला गरेर संस्थाको साख गिराउने कार्य आपत्तिजनक भएको टिप्पणी गर्नुभयो । महासचिव गुरुङले सम्मानित अदालतको निर्णयलाई दृष्टिगत गरी तत्कालका लागि साधारणसभा स्थगन गरिएको बताउनुभयो ।

उच्च अदालत पाटनले आज अल्पकालीन आदेश जारी गर्दै सङ्घको साधारणसभा नगर्नु नगराउनु भनी आदेश दिएको हो । सङ्घको नियमित वार्षिक साधारणसभा नगर्नु नगराउनु भनी सङ्घका विरुद्ध अन्तरिम आदेशको माग गर्दै सोलुखुम्बुका काजी शेर्पा र सोलुखुम्बु घर भई हाल काठमाडौँ बस्ने आङनोर्बु शेर्पाले दायर गरेको उत्प्रेषण मुद्दामा उच्च अदालत पाटनबाट अल्पकालीन अन्तरिम आदेश जारी भएकाले साधारणसभा स्थगन गरिएको सङ्घले विज्ञप्ति निकालेर सबै सदस्यहरुलाई जानकारी गराएको छ ।

साधारणसभाको सम्पूर्ण तयारी तथा व्यवस्थापन भइसकेपछि अन्तिम अवस्थामा आएर साधारणसभा स्थगन गर्नुपरेकोमा सङ्घले सदस्यहरुमा क्षमा मागेको छ । –रासस