२ कार्तिक २०८३, सोमबार

ग्याफ्ने हत्या ‘अप्राकृतिक यौन सम्बन्धले’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gyaffe

काठमाडौं, ९ वैशाख । प्रहरीले औपचारिक रुपमा फादर ग्याफ्नेको हत्याको कारण ‘काम गरेबापत पैसा नदिएको झोकमा खुकुरीले हानेर मारेको’ सार्वजनिक गरेको छ। तर, अनुसन्धानमा संलग्न विश्वस्तस्रोतका अनुसार खड्काले अप्राकृतिक यौन सम्बन्धबाट चिढिएर उनको हत्या गरेको बयान दिएका छन्।

घटनासँग जोडिएका मानबहादुर भण्डारी र रामबहादुर थापाको यसअगाडिको बयानमा समेत फादर ग्याफ्नेले आफ्नो सम्पर्कमा आएकाहरुसँग ‘अप्राकृतिक यौन सम्बन्ध’ राख्ने गरेको र त्यसैका लागि खड्का उनको डेरामा जाने–आउने गर्ने गरेको बताएकाले हत्याको कारणमा अप्राकृतिक यौन सम्बन्धसमेत देखिएको अनुसन्धानरत स्रोतले जानकारी दियो।

भोटेबहाल क्षेत्रमा भारी बोक्ने काम गर्ने क्रममा फादर ग्याफ्नेको सम्पर्कमा पुगेका खड्का त्यतिबेला २५ वर्षका थिए। प्रहरीलाई खड्काले दिएको बयानअनुसार फादर ग्याफ्नेले प्रत्येक साता भोटेबहाल क्षेत्रमा आर्थिक अवस्था कमजोर भएकालाई लुगा बाँड्ने गर्थे। मंसिर प्रारम्भमा फादर ग्याफ्ने मन्डी बाँड्न आउँदा उनीसँग चिनजान भएको थियो।

Murder1एसएसपी कार्कीका अनुसार भोटेबहालमै बस्ने मानबहादुर भण्डारीले खड्कालाई ललितपुरमा रहेको ग्याफ्ने बस्ने घर पुर्यालएर परिचय गराए। उनी त्यो दिन फादरकैमा बसे। प्रहरीका अनुसार त्यस दिनदेखि खड्काको फादरको डेरामा जाने र बस्ने क्रम निरन्तर चल्यो। खड्काले नै दोलखाका रामबहादुर थापालाई समेत ग्याफ्नेकोमा लगेर छाडेका थिए।

अनुसन्धानस्रोतका अनुसार श्रीमतीसहित भोटेबहालमा बस्ने खड्कालाई ग्याफ्नेले आफूसँग अप्राकृतिक यौनसम्बन्ध राखेबापत पैसा दिने प्रलोभन दिए पनि पैसा नदिने र अन्य युवालाई ल्याउन दबाब दिने गरेपछि उनले हत्या योजना बनाएका थिए।

एसएसपी कार्कीका अनुसार घटनाको दिन मंसिर २८ गते ग्याफ्नेले उनलाई कोठामा बोलाएका थिए। उनी त्यस दिन आफ्नो कोठामा भएको दापसहितको खुकुरी लिएर बेलुका ८ बजे ललितपुरस्थित ग्याफ्नेको कोठामा पुगे। खुकुरी टेबलमुनि लुकाए।
ग्याफ्ने नुहाएर आई उनलाई कफी बनाउन भने। उनले इलेक्ट्रिक भाँडोमा पानी तताए र आफू र ग्याफ्नेका लागि कफी बनाए। प्रहरीलाई उनले दिएको बयानअनुसार बेलुका साढे १० बजेतिर फादर ग्याफ्नेले आफूसँग पुनः अप्राकृतिक यौनसम्बन्ध राख्न खोजेपछि उनले काम गरेबापतको पैसा मागे। उनले पछि दिउँला भनेपछि खड्काले टेबलमुनि लुकाएर राखेको खुकुरी निकालेर गर्धनमा प्रहार गरे। हत्यापछि खुकुरी त्यहीँ छाडे, दराजमा भएको २२ हजार रुपैयाँ लिएर कोठाबाट निस्किए।

खड्काले प्रहरीलाई दिएको बयानअनुसार उनी झम्सिखेलबाट निस्किएर ललितपुरकै कालोपुल भन्ने ठाउँमा पुगेपछि रगत लागेको बाहिरी कपडा निकालेर मिल्क्याए। उनी घटनाको दिन त्यतै बसे र बिहान बस चढेर दक्षिणकाली पुगे। दिउँसो साढे ३ बजेतिर दक्षिणकालीबाट फर्किएर कालिमाटी आउँदा ग्याफ्ने हत्याको चर्चा सुनेपछि पक्राउ पर्ने भयले कलंकी गएर इटहरीको बस चढेका थिए।

प्रहरीका अनुसार उनी काँकडभिट्टा हुँदै भारतको सिक्किम गएर घरेलु काम गरेर बसेका थिए। प्रारम्भमा घोडा चराउने काम गरेका उनी पक्राउ पर्नुअघि सिक्किमको एक अपार्टमेन्टमा ढुंगा बोक्ने काम गर्थे। अनुसन्धान क्रममा बेपत्ता देखिए पनि प्रहरीले उनलाई फेला पार्न सकेको थिएन। उनी भागेर भारत गए पनि उनी कहाँ छन्, प्रहरीले १८ वर्षसम्म खुलाउन सकेन।
परिवार भेट्न उनी पटकपटक काँकडभिट्टासम्म आइपुग्थे, तर पक्राउ पर्ने डरले पुनः सिक्किम नै फर्कन्थे। सफल नभएका पुराना घटनाको फाइल पल्टाइरहेको महाशाखाको टोलीले खड्का सिक्किममा मजदुरी गर्ने गरेको सूचना आएपछि वैशाख पहिलो साता सिक्किम हान्निएको थियो।

उनको १८ वर्ष पुरानो तस्बिर बोकेर गएको टोलीले हुलिया चेक सर्ट लगाएको पूरै तालु खुइलिएको एक व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा प्रारम्भमा उनले आफू ढालबहादुर खड्का होइन भने। तर, निरन्तर केरकारपछि उनले स्वीकार गरे।

‘म यता भागेर आउँदा श्रीमती गर्भवती थिइन्, छोराको मुखसमेत हेर्न पाएको छैन,’ खड्काको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘फादरलाई मैले नै मारेको हुँ, मलाई नेपाल लैजानुस्।’ आजको नागरिक दैनिकमा केपी ढुंगानाले लेखेका छन् ।