
मस्को, ४ चैत । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि आफ्ना टर्किश समकक्षीसमक्ष मागहरू अगाडि सारेका छन् ।
बिहीबार टेलिफोनवार्ताका क्रममा पुटिनले रेजेप तय्यीप एर्दोआनलाई रुसका ठोस मागहरू बताएका हुन् । दुई राष्ट्रपतिबीच भएको संवादबारे मैले (जोन सिम्पसन, विश्व मामिला सम्पादक) एर्दोआनका एक प्रमुख सल्लाहकार इब्राहिम कालिनसँग कुराकानी गरेको छु ।
पुटिन र एर्दोआनबीच भएको कुराकानी टर्किश अधिकारीहरूको एउटा सानो समूहले पनि सुनेको थियो जुन समूहमा कालिन पनि थिए । उनका अनुसार रुसका मागहरू दुई भागमा बाँडिएका छन् ।
कालिनले बताएअनुसार शुरूका चारवटा रुसी मागहरू पूरा गर्न युक्रेनलाई धेरै गाह्रो छैन । तीमध्ये एउटा प्रमुख माग भनेको युक्रेन तटस्थ बस्नुपर्ने र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको सदस्यताका लागि अघि बढ्न नहुने रहेको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो मागलाई स्वीकारिसकेका छन् । पहिलो भागका अरू मागहरू धेरैजसो रुसले जितेको जस्तो देखाउने खालका छन् ।
युक्रेन निरस्त्रीकरणको प्रक्रियामा जानुपर्ने हुन्छ जसले रुसका लागि ऊ खतरा नभएको सुनिश्चित गरोस् । युक्रेनमा रुसी भाषालाई संरक्षण गर्नुपर्ने र सार्वजनिक जीवनबाट नाजीवादका सबै अवशेष एवम् प्रभावको अन्त्य हुनुपर्ने माग छ ।
यो माग चाहिँ जेलेन्स्कीका लागि अपमानजक छ जो आफैँ एक यहुदी हुन् र उनका पनि केही आफन्तहरू यहुदी नरसंहारमा मारिएका थिए । तर रुसको त्यो माग पनि पूरा गर्न जेलेन्स्कीलाई खासै गाह्रो नहुने टर्कीको विश्वास छ ।
नवनाजीवादका सबै स्वरूपको युक्रेनले निन्दा गर्दा पर्याप्त हुनेछ । बीबीसीबाट















प्रतिक्रिया