
काठमाडौं, ४ चैत । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १०६ जनालाई ट्राफिक प्रहरीले एकैदिन कारबाहीको दायरामा ल्याएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागु पूर्णिमा (होली)लाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन हिजो बिहीबार काठमाडौँमा १ हजार ३०० जना भन्दा बढी ट्राफिक प्रहरी खटाएर कडाईका साथ चेकजाँच गर्दा उक्त संख्यामा चालकहरू कारबाहीमा परेका हुन् ।
दुर्घटनारहित होली पर्व बनाउनका लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि आफ्नो जनशक्ति परिचालन गरेको थियो । महाशाखाले होली मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न ६८ स्थानहरुमा चेक प्वाइन्टहरु राखेर बिहानदेखि नै कडा चेकजाँचको व्यबस्था मिलाएको थियो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले रङ्गहरुको पर्वमा सबै जना फेस्टिभ मुडमा हुने, होहल्ला गरि सवारी चलाउने, नसालु पदार्थको सेवन गरि सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहने कुरालाई मध्येनजर गरेर बिहानैदेखि चेकप्वाइन्ट राखि चेकिङ्लाई कडा पारिएको जानकारी दिए ।
उनले होली लक्षित ट्राफिक व्यवस्थापन कडा गरिएको कारण काठमाडौंमा कुनै अप्रिय घटना नभएको पनि जानकारी दिए ।
‘बिहानदेखि बेलुका ६ बजेसम्म चेकजाँचको क्रममा मादक पदार्थ सेवन गरि सवारी चलाउने १०६ जनालाई कारबाही गरेका छौं,’ एसएसपी जोशीले भने, ‘बिना हेल्मेट, तीन जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लंघन गर्ने ९०६ वटा सवारी चालकहरुलाई कारबाही र होल्ड गरियो ।’
त्यस्तै उच्छ्रिङ्खल तथा अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीब्र गति र जिकज्याक गरि मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरि मोटरसाइकल हुइँक्याउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा तीनजना भन्दा बढी सवार गरी चलाउने, सवारी साधनको प्रयोग गरी महिलाहरूलाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्ने, ठूलो आवाज निकाल्ने र मोडिफाई गरी सवारी चलाउने, सवारी चालक अनुमति पत्र नभएकाहरूले सवारी साधन चलाउने, ट्राफिक नियमविपरीत सवारी चलाउने माथि विशेष निगरानी बढाई कडाईका साथ कारबाही गरिएको महाशाखाले जनाएको छ ।















प्रतिक्रिया