वीरेन्द्रनगर, ८ वैशाख । सुर्खेतका निजी विद्यालयहरुले यस वर्ष जसरी भएपनि विद्यालयको शुल्क बढाउने अडान लिएका छन् । पछिल्लो समय महङ्गी बढेर विद्यालय सञ्चालन गर्न हम्मे हम्मे परेको कारण जनाएर उनीहरुले शुल्क बढाउने अडान लिएका हुन् ।
वैशाख लागेसँगै सुर्खेतका निजी विद्यालयहरुबीच विद्याथी भर्ना गर्ने प्रतिस्पर्धा नै चलेको छ । कतिपय विद्यालयहरुले भित्रभित्रै आफूखुसी शुल्क समेत बढाई भर्ना लिने गरेका छन् । विद्यालयहरुले भर्ना दर र शुल्कमा रु ५० देखि रु ३ सय सम्म वृद्धि गरेको पाइएको छ ।
निजी विद्यालयको छाता सङ्गठनहरु विद्यालयको शुल्क नबढाए सम्म कक्षा सञ्चालन गर्न गा¥हो पर्ने भन्दै १५ दिनपछि शुल्क बढाउने अडानमा छन् । निजी विद्यालयको साझा संस्था (प्याव्सन) सुर्खेतका अध्यक्ष नैनसिहं खत्रीले शुल्क नबढेसम्म विद्यालय सञ्चालन गर्न नसकिने बताउनुभयो ।
उहाँले सुर्खेतमा गठन भएको छानविन तथा अनुगमन समितिले १५ दिनभित्र नतिजा निकालेपछि जसरी पनि शुल्क बढाइने दावी गर्नुभयो । विद्यालयहरुको स्तरका आधारमा शल्क तय हुने उहाँको भनाइ छ ।
तर यता जिल्ला शिक्षा कार्यालय सुर्खेतले भने अहिले निजी विद्यालयहरुको शुल्क नबढ्ने निर्णय गरिएको जानकारी दिएको छ । शिक्षा मन्त्रालयले नै प्राविधिकहरुको अनुगमन टोली गठन गरेको भन्दै जिल्ला शिक्षा अधिकारी दिपा हमालले प्राविधिकले नतीजा ननिकालेसम्म सुर्खेतमा पनि शुल्क नबढ्ने बताउनुभयो । रासस















प्रतिक्रिया