
रूसमा बनेका पोल्याण्डका मिग-२९ युद्ध विमान युक्रेनलाई दिने प्रस्तावबाट अन्ततस् अमेरिका पछि हटेको छ। पोल्याण्डको सो प्रस्ताव अमेरिकाले इन्कार गरेको संचार संस्था रोयटर्सले जनाएको छ।
युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीको आग्रहमा युद्ध विमान युक्रेन पठाउने विषयमा अमेरिकाले केहि समयदेखि पहल गरिरहेको थियो। गत साता आफ्नो पूर्वी युरोपियन राष्ट्रहरुको भ्रमणताका अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले त्यसको चाँजो मिलाउने प्रयास गरेका थिए।
युक्रेनी पाइलटहरुले मिग-२९ विमान सजिलै र विना प्रशिक्षण उडाउन सक्ने भएकाले युक्रेनले रुससँग युद्ध लड्न ती विमानहरुको माग गरेको थियो। पोल्याण्डका ती विमान कसरी युक्रेन पठाउने भन्ने बारेमा चुनौती थियो। पोल्याण्डले सिधै आफ्नो मुलुकबाट विमान पठाउँदा रसियाले युक्रेनी युद्धमा संगल्न भएको आरोप लगाउन सक्थ्यो। त्यसले अन्ततस् आफूलाई पनि युद्धमा तान्ला वा रुसले आफूमाथि आक्रमण गर्ला भन्ने चिन्ता पोल्याण्डलाई थियो।
नेटोको सदस्य राष्ट्र पोल्याण्डसँग रूसको लामो सीमा जोडिन्छ। अन्ततः पोल्याण्डले आफ्ना २८ वटा मिग-२९ विमान जर्मनीमा रहेको सैन्य अखडामा पठाउने र अमेरिकाले ती विमान युक्रेनलाई दिनुपर्ने प्रस्ताव गर्यो।
न्यु योर्करका अनुसार ब्लिन्केनले बुधबार बेलायती विदेशमन्त्रीसँग संयुक्त पत्रकार सम्मेलनमा बोल्दै भने, ‘हाम्रो उद्देश्य युद्धको अन्त्य गर्नु हो। नेटो सदस्य मुलुकहरुमा युद्ध विस्तार होस् भन्ने हैन।’रुस- युक्रेन युद्ध लम्बिदै जाँदा यसमा आफूहरु तानिदै जान सक्नेमा अमेरिका पछिल्ला दिनहरुमा चिन्तित देखिन थालेको छ।















प्रतिक्रिया