
अमेरिकाले रुसबाट आयात हुने तेल र ग्यासमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । अर्कोतिर ब्रिटेनले पनि आगामी दिनमा रुसी तेल खरिद बन्द गर्ने र युरोपेली संघले आयातमा कटौती गर्ने निर्णय गरेका छन् ।
रुसी सरकारले आफ्नो तेलको व्यापारमा प्रतिबन्ध लगाए युरोपेली देशमा ग्यास आपूर्ति बन्द गरिदिने चेतावनी दिएका बाबजुद अमेरिका, ब्रिटेन लगायतका मुलुकले यो कदम चालेका हुन् ।
रुसको तेल र ग्यासमा कस्तो प्रतिबन्ध छ ?
युक्रेनका तर्फबाट रुसमाथि कडा प्रतिबन्ध लगाउन माग गरिएपछि अमेरिकाले रुसबाट तेल, ग्यास र कोइला आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ । ब्रिटेनले पनि यो वर्षको अन्त्यसम्म रुसी तेलबाट छुटकारा पाउने निर्णय गरेको छ । युरोपेली संघले रुसी ग्यास आयातमा दुई तिहाई कटौती गर्दैछ ।
ब्रिटेन सरकारले यो अवधिमा आपूर्तिको वैकल्पिक स्रोत खोज्न पर्याप्त समय मिल्ने जनाएको छ । रुसका उपप्रधानमन्त्री एजेक्जेन्डर नोभाकले रुसी तेलमा प्रतिबन्ध लगाउने फैसलाले वैश्विक बजारमा भयानक असर ल्याउने बताइसकेका छन् ।
विश्वमा तेल र ग्यासको मूल्यमा पहिलादेखि नै तीव्र वृद्धि हुँदै आएको छ । यदि रुसले निर्यातमा रोक लगाउने हो भने यिनको मूल्यमा अझ तीव्र वृद्धि हुन सक्छ । यो विषयले इन्धनको मात्र नभई ब्रिटेनको जीवनशैलीमा पनि नकारात्मक असर देखाउने छ । यो परिवर्तनको कारण विश्वमा अत्यावश्यक वस्तुको मूल्यमा अझ वृद्धि हुने देखिन्छ ।
रुसले कति तेल निर्यात गर्छ ?
रुस विश्वमा तेलको तेस्रो ठुलो उत्पादक हो । यसअघि अमेरिका र साउदी अरबको नम्बर आउँछ । रुस प्रतिदिन पाँच मिलियन ब्यारेल तेल उत्पादन गर्दछ, जसको आधाभन्दा बढी हिस्सा युरोप जान्छ । ब्रिटेनले आफ्नो तेल खपतको ८ प्रतिशत हिस्सा रुसबाट आयात गर्दछ ।
अमेरिका भने रुसमा त्यति निर्भर छैन । सन् २०२० मा अमेरिकाले रुसबाट आफ्नो कुल खपतको ३ प्रतिशतमात्र तेल आयात गरेको थियो ।
तेल आपूर्तिको वैकल्पिक स्रोत
इनर्जी पोलिसी रिसर्च एनालिस्ट बेल मेकविलियम्सका अनुसार ग्यासको तुलनामा तेलका लागि अर्को निर्यातक खोज्न सहज हुन्छ । उनी भन्छन्, ‘यो यसकारण कि ग्यासका लागि धेरैतिर पाइपलाइन हुँदैन ।’
रुसबाट केही पाइपलाइन आउने र अन्यत्र धेरैतिर शिपमेन्ट आउने गर्दछ । अमेरिका पनि पछिल्लो समय साउदी अरबलाई तेल उत्पादन बढाउन लगातार आग्रह गर्दै आएको छ । तर साउदी अरबले अहिलेसम्म तेलको मूल्य कमी ल्याउन आफ्नो उत्पादन बढाउन अस्वीकार गर्दै आएको छ ।
साउदी अरब ओपेक देशमा सबैभन्दा ठुलो तेल उत्पादक मुलुक हो । ओपेक तेल उत्पादक देशको एक संगठन हो जो विश्वमै बेचिने तेलको ६० प्रतिशत हिस्सा उत्पादन गर्दछ । रुस ओपेक देशमा सामेल छैन । तर, २०१७ पछि रुसले उत्पादकको कमाइमा स्थिरता ल्याउन तेल उत्पादनको सीमा तय गर्ने सन्दर्भमा ओपेकसँग सहकार्य गर्दै आएको छ ।
उता, अमेरिका भने भेनेजुएलामाथि लगाएको प्रतिबन्ध खुकुलो तुल्याउनेतर्फ सोचिरहेको छ । एक समय अमेरिकालाई तेल दिने मुलुकमा भेनेजुएला प्रमुख हुने गरेको थियो । तर, भेनेजुएलाले हालै आफ्नो अधिकांश तेल चीनमा निर्यात गर्न थालेको छ ।
पश्चिमी युरोपमा रुसी ग्यास पुग्न बन्द भए के होला ?
युरोपको घरमा ‘हिटिङ्ग’ मा हुने खर्च पहिला नै अधिक थियो । तर रुसी ग्यास पश्चिम युरोपका देशमा पुग्न बन्द भएमा यसमा हुने खर्चमा अझ वृद्धि हुन सक्छ । युरोपेली संघको कुल प्राकृतिक ग्यास आयातमा रुसी ग्यासको हिस्सेदारी लगभग ४० प्रतिशत छ । यदि यो आपूर्ति रोकिने हो भने इटली र जर्मनीमाथि यसको सर्वाधिक असर पर्नेछ ।
यस्तोमा युरोपले कतार, अल्जेरिया र नाइजेरियाजस्ता ग्यास निर्यातकमाथि विचार गर्न सक्छ । तर ग्यासको उत्पादनमा तत्काल वृद्धि गर्न विभिन्न प्रकारका अड्चन आउन सक्छन् ।
ब्रिटेन ग्यासको आफ्नो कुल खपतको केवल ५ प्रतिशत रुसबाट आयात गर्दछ । अमेरिका भने रुसबाट ग्यास आयात गर्दैन । यसको बाबजुद ग्यास आपूर्तिमा कमीका कारण अमेरिका र बेलायतमा पनि मूल्यवृद्धि देखिन थालेको छ ।
रुसी ग्यासको विकल्प भेटिन सक्छ ?
यो त्यति सहज छैन । मेकविलियम्स भन्छन्, ‘ग्यास आपूर्ति अन्यत्रबाट गर्न केही कठिन हुन्छ किनकि रुसबाट युरोपमा पाइपका माध्यमबाट ग्यास आउँछ ।’
‘थिङ्क ट्याङ्क’ ब्रुएगलका अनुसार रुसले युरोपलाई ग्यास निर्यात बन्द गरेमा युरोपले सम्भवतः अमेरिकाबाट लिक्विफाइड नेचुरल ग्यास अर्थात् ‘एलएनजी’ आयात गर्न सक्छ । यसले अन्य ऊर्जा स्रोतको प्रयोगलाई पनि बढाउन सक्छ तर यसका लागि समय लाग्छ र यो त्यति सजिलो छैन ।
रिसर्च एनालिस्ट सिमोन टेलिपिएट्रा भन्छिन्, ‘नवीकरणीय ऊर्जा स्रोत सुरु हुन समय लाग्छ, यस्तोमा तत्कालै केही समाधान छैन । आगामी जाडोमा इन्धनलाई बदल्न केही लाभ प्राप्त हुन सक्छ । जस्तै, कोइलाबाट चल्ने ऊर्जा संयन्त्रलाई सुरु गर्न सकिन्छ । इटली र जर्मनीले आपतकालीन स्थितिमा यो व्यवस्था गर्ने निर्णय गरिसकेका छन् ।’
यसैबीच युरोपेली संघले सन् २०३० अघि युरोपलाई रुसी जीवाश्म इन्धनबाट मुक्त गर्ने दिशामा एक योजना ल्याउने प्रस्ताव राखेको छ । यसमा ग्यास आपूर्तिमा विविधता ल्याउनका साथै हिटिङ्ग र ऊर्जा उत्पादनमा ग्यासलाई परिवर्तन गर्ने सामेल छ ।
इन्धनमा हुने खर्चमा देखिने असर
ब्रिटेनमा आम मानिस ऊर्जा र इन्धनमा जति खर्च गर्दछन्, युक्रेन र रुसबीच जारी युद्धका कारण यसमा वृद्धि हुने निश्चित छ । अमेरिकामा पेट्रोलको मूल्य सन् २००८ पछि अहिले आफ्नो उच्चतम् स्तरमा छ ।
अमेरिकी अटोमोबाइल एसोशिएसनका अनुसार पछिल्लो हप्ता पेट्रोल पम्पमा उपलब्ध इन्धनको मूल्यमा ११ प्रतिशत वृद्धि भएको छ । –बीबीसी















प्रतिक्रिया