१४ कार्तिक २०८३, शनिबार

जाजरकोटले सिटामोल नपाउँदा प्रधानमन्त्री उपचार गर्न विदेश प्रस्थान, सरकारको २ करोड स्वाहा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-koirala-Upachar-bidesh

– कमलराज भट्ट

काठमाडौँ, ७ बैशाख । जाजरकोटमा स्वाइन फ्लु लगायतका सरुवा रोगले धमाधम सर्वसाधारणको ज्यान गइरहँदा प्रधानमन्त्री सुशील कोइराला उपचारका लागि विदेश भ्रमणमा निस्केका छन् ।

यसअघि पटकपटक अमेरिकामा उपचार गराएका प्रधानमन्त्री कोइराला यसपटक भने थाइल्याण्डको बैंककमा उपचार गराउँदैछन् । त्यसका लागि अर्थ मन्त्रालयले २० लाख रुपैँया निकासा दिइसकेको छ । ‘प्रधानमन्त्री कोइरालाको उपचारका लागि अहिलेसम्म १ करोड ७५ लाख खर्च भइसकेको छ । यसपटकको उपचारसहित २ करोड पुग्ने पक्का छ, अझै राज्यको ढुकुटीबाट कत्ति सकिन्छ ठेगान छैन ।’– प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो-‘यस हिसाबले प्रधानमन्त्री कोइराला जंगबहादुर र चन्द्रशमसेरपछि अहिलेसम्म मुलुकका सबैभन्दा महंगा प्रधानमन्त्री सावित भएका छन् ।’

जकार्ता र वाङडुङमा हुने एसियाली अफ्रिकी सम्मेलनमा भाग लिन सोमबार जम्बो टोली लिएर इन्डोनेशियातर्फ प्रस्थान गरेका प्रधानमन्त्री कोइराला वैशाख ९ र १० गते हुने सम्मेलनपछि उपचारका लागि थाइल्याण्डको बैंककमा जाने कार्यक्रम छ । आफ्नो उपचारका लागि लाग्ने सम्पूर्ण खर्च राज्यले बेहार्ने निर्णय उनले यसअघि नै मन्त्रिपरिषद्बाट गराइसकेका छन् ।

स्वदेशमै उपचार हुने रोगका लागि पनि नेताहरु विदेश गएर करोडौँ रुपैँया स्वाहा पारेको गुनासो जनस्तरमा आउन थालेपछि स्वास्थ्य मन्त्री खगराज अधिकारीको पहलमा केही समयअघि सरकारले स्वदेशमै सम्भव हुने उपचारका लागि विदेशमा गए उक्त खर्च राज्यले नबेहोर्ने निर्णय गरेको थियो । साथै, स्वदेशमा उपचार सम्भव छ, छैन भन्ने विषयमा नेपालको पुरानो वीर अस्पताल र मेडिकल काउन्सिलले भर्ने मापदण्ड तय भएको थियो । तर, प्रधानमन्त्री आफैले त्यो निर्णयलाई लत्याइदिएका छन् ।

प्रधानमन्त्री कोइरालाले नै राज्यको ढुकुटीबाट उपचार गरेपछि एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वअध्यक्ष झलनाथ खनाल, प्रधानन्यायाधिश रामकुमारप्रसाद साह पनि विदेशमा गएर उपचार गरेर राज्य कोषबाट तिराएका छन् ।

देशकै बुढो वीर अस्पताल तीन करोड रुपैँया नपाएर आफै अशक्त भएर बसेको छ । तर, एकबर्षको अवधिमा देशका नेताहरुले विदेशमा उपचार गरेर तीन करोड रुपैँया सकिसकेका छन् । जाजरकोटमा जनताले सिटामोल नपाउँदा प्रधानमन्त्री कोइराला विदेशमा उपचार गर्न जाँदा झनै नकारात्मक सन्देश गएको छ । जाजरकोटमा धमाधम सर्वसाधारणको ज्यान जाँदा पनि प्रधानमन्त्रीले त्यसमा ध्यान नदिँदा समस्या भएको भन्दै स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुले समेत आक्रोश पोखिरहेका छन् ।