१४ कार्तिक २०८३, शनिबार

पानीको व्यवस्थापनका लागि बढी समय खर्चन महिला बाध्य

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ फागुन । जलवायु परिवर्तनका कारण महिलाले पानी सङ्कलन गर्नकै लागि बढी समय खर्चनुपर्ने अवस्था आएको विज्ञले बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय अलुम्नाई एशोसिएशनद्वारा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ‘महिला तथा पानीसम्बन्धी परम्परागत ज्ञान’ विषयक बेबिनारका वक्ताले विश्वभर प्रत्येक दिन पानीकै लागि महिलाले २६ करोड ६० लाख घण्टाको समय खर्चनुपरेको जानकारी दिनुभयो ।

पानीको मुहान सुक्दै गएको तथा प्रदूषणका कारण नदी र खोलाको पानी खानयोग्य नभएको अवस्थामा पानी सङ्कलन, उपयोग र व्यवस्थापनकै लागि महिला, बालबालिका र विशेषगरी छात्राको समय बढीखर्च हुँदा विद्यालयको अध्ययन बीचैमा छोड्नुपर्ने बाध्यतासमेत बढेको विश्लेषण उहाँहरुको थियो ।

अमेरिकाको रोडे आइसल्याण्ड विश्वविद्यालयका एशोसिएट प्राध्यापक सोनी मुल्मी प्रधानाङले विज्ञान गणित प्रविधि ९स्टिम०लगायतका विषयको अध्ययनका लागि विश्वभर नै महिलाको रुचि कम हुने गरेको जानकारी दिनुभयो ।

स्टिम विषयको अध्ययन गर्न छात्रालाई प्रेरित नगर्ने परम्परा विश्वभर नै रहेको जनाउँदै उहाँले कामकाजी महिलामध्ये ७५ प्रतिशत महिला पाँच प्रकारका पेशामा मात्र केन्द्रित रहेको र अनुसन्धानात्मक लेख प्रकाशन गर्नेमासमेत महिलाको सहभागिता ३० प्रतिशत भन्दा कम रहेको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो ।

घरपरिवार तथा बालबच्चाको जिम्मेवारी सम्हाल्नुपर्ने भएका कारण महिला स्टिमतर्फ आकर्षित नहुने गरेको अवस्थामा विद्यालय तहदेखिनै छात्राहरुलाई स्टिम शिक्षातर्फ आकर्षित गर्नुपर्ने भनाइ उहाँको थियो ।

त्रिविवी प्राध्यापक सुदर्शनराज तिवारीले पाँचौँ शताब्दीमा किराँतकालमै काठमाडौँ उपत्यकाका सहरमा पानी आपूर्ति गर्नका लागि सार्वजनिक धारा ‘हिटी’, पोखरी बनाउने गरिएको र यसैलाई लिच्छवीकाल र मल्लकालमासमेत विस्तार गरिएको बताउनुभयो ।

यस बखत वर्षभरिनै पानी उपलब्ध गराउन जमिन पुनर्भरण गर्ने व्यवस्था गर्नुका साथै फोहर पानीको विसर्जनका लागि ‘इटीपोखरी’ बनाइएको चर्चा गर्दै उहाँले पानीको मुहान संरक्षण, वन जङ्गल संरक्षण तथा रुख कटानका सम्बन्धमा कडा मापदण्ड बनाइएको पनि उल्लेख गर्नुभयो ।

त्रिवि अलुम्नाई एशोसिएशनका अध्यक्ष प्राध्यापक सुनिति श्रेष्ठले नेपाली समाजमा विद्यमान पँधेराको संस्कृति हराउँदै जाँदा महिलाले सामूहिक रुपमा भेटघाट गर्ने, आफ्नो मनका कुरा तथा सुख,दुःखका विषय साटासाट गर्ने परम्परासमेत लोप हुन थालेको बताउँनुभयो ।

बेबिनारमा नेपालका लागि युनेस्कोका प्रतिनिधि माइकल क्रोफ्टले जलवायु परिवर्तनका साथै कृत्रिम बौद्धिकता तथा प्रविधि रुपान्तरणकै कारण महिला थप समस्यामा पर्न लागेको बताउँदै परम्परागत ज्ञान र सीपको संरक्षण गर्नु चुनौतीपूर्ण रहेको छ भन्नुभयो ।

सो अवसरमा प्राध्यापक ऋदिश पोखरेल, डा धीरज प्रधानाङलगायत अन्य वक्ताले पानीकै लागि नेपाली महिलाले धेरै समयखर्च गर्नुपर्दा अन्य उत्पादनशील कार्यमा ध्यान दिन नसकेको चर्चा गर्नुभयो ।–रासस