काठमाडौँ, ७ बैशाख । प्रेस चौतारी नेपालले प्रेस स्वतन्त्रता सेनानी गोपाल थपलियालाई राष्ट्रिय अभिनन्दन गर्ने भएको छ ।
प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्याल नेतृत्वको प्रतिनिधित्व मण्डलले पत्रकार थपलियालाई सोमबार उहाँको अनामनगरस्थित निवासमा भेट्दै सोको जानकारी गराएको हो । पञ्चायत तथा त्यसपछिका दिनमा भएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा थपलियाले खेलेको भूमिकाको उच्च कदर गर्दै बृहत राष्ट्रिय अभिनन्दन समारोहको आयोजना गर्ने भेटका क्रममा अध्यक्ष अर्यालले जानकारी गराउनुभएको थियो । प्रेस चौतारीको संयोजनमा हुने अभिनन्दनमा संचार सम्बन्धी अन्य संघसंस्थाले पनि सामूहिक अभिनन्दन गर्नेछन् ।
यसैगरी, नेकपा एमालेसँगको समन्वयमा थपलियाको जीवनीलाई समेटेर विशेष ग्रन्थ प्रकाशनका लागि पहल गर्ने अर्यालले जानकारी गराउनुभयो । पटकपटकको आन्दोलनमा प्रहरीको लाठी प्रहार तथा यातनाबाट वरिष्ठ पत्रकार थपलिया थला पर्नुभएको छ । थप उपचारका लागि थपलिया अमेरिका जानुपर्ने भएकाले त्यसअघि नै उहाँको अभिन्दन गर्ने प्रेस चौतारीको तयारी छ ।
प्रेस चौतारीको पहलमा सरकारले थपलियाको उपचारका लागि २५ लाख रुपैंया खर्च छुट्याएको छ । तर, अमेरिकाको न्युयोर्कमा गएर उपचार गर्नुपर्ने भएकाले सो रकम अपुग हुने देखिएको थपलियाले चौतारीको प्रतिनिधित्वमण्डललाई जानकारी गराउनुभएको थियो । चौतारीका अध्यक्ष अर्यालले भने पार्टी (एमाले), एनआरएन तथा प्रवासी नेपाली मञ्चसँगको सहकार्यमा सहयोग रकम जुटाउने जानकारी गराउनुभयो ।
प्रतिनिधिमण्डलमा प्रेस चौतारीका उपाध्यक्ष उपेन्द्र केसी, सचिवद्वय गणेश पाण्डे र रामकुमार एलन, केन्द्रीय सदस्य ईश्वरी काफ्ले, उपत्यका अञ्चल कमिटीका सदस्य मोहन बास्तोला लगायत हुनुहुन्थ्यो ।
















प्रतिक्रिया