७ कार्तिक २०८३, शनिबार

पुरुषहरुले महिला बनेर सिके सिँगारु नाच, अग्रजबाट सिक्दै नयाँ पुस्ता (तस्वीरहरूसहित)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २४ फागुन । सुर्खेतको सिम्टा क्षेत्र उद्गमस्थल मानिएको ‘सिँगारु नाच’ त्यहाँका नयाँ पुस्ताले अग्रजबाट सिकेका छन् ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नृत्य विभागको आयोजनामा बिहिबारबाट कर्णाली प्रदेश स्थित सुर्खेतको जामुने बजारमा सम्पन्न भएको छ । चार दिनको यो नृत्य प्रशिक्षण सोमबार सकिएको हो ।

प्रशिक्षणमा पुरुषहरुले महिलाको पहिरन लगाएर महिला भेषमा महिलासँगै यो नाच सिकेका छन् ।

प्रशिक्षणको समापन समारोहमा जब पुरुषहरुले सृँगार पटार गरेर महिला भेषमा महिलासँगै नृत्य प्रस्तुत गरे । त्यो दृष्य निकै मोहक बनेको थियो । यो नाच सिकेका नयाँ पुस्ताको सृँगारु नाच हेर्न सिम्टा गाउँपालिका सुर्खेतको पुरानो गाउँपालिका भवन प्राँगनमा दर्शकको भिड थियो ।

समापन समारोहका प्रमुख अतिथि साँसद धु्रबकुमार शाही पनि नयाँ पुस्ताले सुँगारु नाच छमछमी नाचेको देखेर दँग परे । नयाँ पुस्तालाई नाचमा अग्रजले पनि साथ दिए । समापन समारोहमा साँसद शाहीले प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै भने, ‘सिँगारु नाचको उद्गम स्थल सिम्टा भए पनि यहाँका नयाँ पुस्ताले यो नाच जानेका थिएनन् । करीब ४० जना युवा युवीलाई यो नाच सिकाएर कला हस्तान्तरण गर्दै संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले निकै राम्रो काम गरेको छ ।’ अब यो नाच जीवन्त रहने विश्वास उनले सो क्रममा व्यक्त गरे ।

चार दिवसीय सो नृत्य प्रशिक्षणको उद्घाटन बिहीबार बिहान सिम्टा गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले गरेका थिए । गाउँघरमा ज्येष्ठ नागरिकमा मात्र सीमित भएको यो नाच नयाँ पुस्तालाई सिकाउन आफ्नो गाउँपालिका रोजेको भन्दै उनले खुशी व्यक्त गरे । यो नृत्यलाई क्षेत्रीयबाट राष्ट्रिय बनाईदिन पनि उनले संगीत नाट्य प्रतिष्ठानलाई अनुरोध गरे ।

उद्घाटन समारोहमा ‘सिम्टामा प्रचलित सिँगारु लोक नाचको सौद्धान्तिक पक्ष’ शीर्षकमा जिवेन्द्रदेव गिरीले कार्यपत्र प्रस्तुत गरे । स्थानीय ज्येष्ठ नागरिकहरुले सो कार्यपत्रमाथि टिप्पणी गर्दै सुझाब दिएका थिए ।

नेपाल संगीत तथा नृत्य प्रज्ञा प्रतिष्ठान नृत्य विभाग प्रमुख प्राज्ञ नमुना शर्माको अध्यक्षतामा सो प्रशिक्षण सम्पन्न भएको हो । लोप हुन लागेको लोक नृत्यहरुको सँरक्षण गर्ने क्रममा आफूहरूले यसपटक प्रतिष्ठानका तर्फबाट सिँगारु नाच प्रशिक्षण आयोजना गरेको शर्माले बताइन् ।

चार दिनसम्म दिनभर चलेको सो प्रशिक्षणमा स्थानीय ९ वटा विधालय तथा कलेजका विधार्थीहरुले सिँगारु नाच सिकेका छन् । सिँगारु नाच विज्ञ कुलमान नेपालीले आधुनिक शैलीमा नाच्ने कला र स्थानीय कलाकार कालिबहादुर मल्लले सिँगारु नाच नाच्ने तरिका सिकाए । सोही क्रममा प्रेमदेव गिरी र खम्बराज गिरीले सिँगारु नाचमा मदाल बादनको प्रशिक्षण दिए ।

सिँगारु नाच सिकेर आकर्षक रुपमा प्रस्तुत गर्न पाउँदा प्रशिक्षार्थी युवा पुस्ताले कार्यक्रममा खुशी व्यक्त गरे ।