
चितवन, २१ फागुन । सामाजिक सन्देशमुलक नयाँ चलचित्र ‘थर्ड आइ’ तयार भएको छ ।
ल्होसारको अवसर पारेर बिहीबार चितवनमा यो चलचित्रको प्रिमियर गरिएको छ । चलचित्र हेरेपछि चलचित्रको सन्देशबाट प्रभावित भएर १०६ जनाले आँखा दानको घोषणा गरेका छन् । मृत्युपछि आफ्नो आँखा दृष्टीबिहीन व्यक्तिलाई दिनका लागि उनीहरूले अहिले नै आँखा दानको घोषणा गरेका हुन् ।
‘हामीले निर्माण गरेको चलचित्र ‘थर्ड आइ’को मुख्य सन्देश भनेकै आँखा दान गरेर मृत्युपछि दुष्टीबिहीलाई दृष्टी दिनु हो । यो चलचित्र हेरेर आज १०६ जनाले नेत्रदान गर्नुलाई हाम्रो टीमले प्रेरणाको रुपमा लिएको छ,’ चलचित्रका निर्माता एवम् लायन बिनोद मिश्रले भने ।

लायन्स क्लब अफ भरतपुर सप्तरँगी थर्ड आइ र चलचित्र थर्ड आइका कलाकार प्राविधिक एवम् निर्माण पक्ष गरी १०६ जनाले मृत्युपछिका लागि आँखा दान गरेका हुन् । प्रिमियर शोमा यो चलचित्रसँग जोडिएका विभिन्न व्यक्तिहरुलाई निर्माण टीमबाट सम्मान गरिएको थियो ।
चलचित्रलाई युवा निर्देशक आसुतोष अधिकारीले निर्देशन गरेका हुन् । सरोज दाहाल, कमला अधिकारी, केडी प्रशित, रेनुका प्रधान, राजु अधिकारी, बिनोद मिश्र, सुजर पोखरेल, बिमला अधिकारी, राजीव न्यौपाने लगायतको मुख्य भूमिका चलचित्रमा छ ।
यो चलचित्रका कार्यकारी निर्माता तथा सह अभिनेता केडी प्रश्रितले जीवनपछि पनि अरुलाई दृष्टी दिन सकिन्छ भन्ने सन्देश प्रस्तुतिका लागि नयाँ चलचित्र ‘थर्ड आइ’ निर्माण गरिएको सो कार्यक्रममा बताए ।
यो चलचित्रलाई अब लायन्स लगायत विभिन्न संस्थाबाट विशेष प्रदर्शनी गरिने र सो बाट उठेको मुनाफाको रकम नेत्रबिहीनहरूलाई आँखा दानका लागि सहयोग गरिने पनि प्रश्रितले बताए ।
उनका अनुसार आफ्नो दुई आँखाबाट दृष्टी गुमेपछि अरु कसैसँग लिएको तेश्रो आँखाले पनि जीवनभर देख्न सकिन्छ भन्ने कुरालाई सबैमाझ पुर्याउन यो थर्ड आइ निर्माण गरिएको हो ।

चलचित्र थर्ड आइको प्रिमियर शोमा सम्बन्धित कलाकार तथा सिनेकर्मीलाई कदरपत्र प्रदान गर्दै लायन्स क्लब अफ इन्टरनेशलन ३२५ आरका डीजी सिद्धार्थ लाल सुकेले चलचित्रले दिएको सन्देश निकै सान्दर्भिक र मार्मिक भएको बताए । यो चलचित्र देखाएपछि लायन्सले धेरै भन्दा धेरैलाई आँखा दान गर्न प्रेरित तुल्याउने विश्वास पनि उनले व्यक्त गरेका छन् ।
करीब एक घन्टाको यो चलचित्रको कथालाई साहित्यकार आरती अधिकारीले लेखेकी हुन् । जसमा रफी शाहको आलेख, बिमल लामाको संगीत, सम्राट थापाको पार्स्व संगीत, मन्दिल श्रेष्ठको सम्पादन, सुजन बिसीको छायाँकन रहेछ । अब थर्ड आइलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सवमा पनि प्रदर्शन गरिने बताइएको छ ।















प्रतिक्रिया