– सुदीप अधिकारी
बर्दिया, ७ बैशाख । बर्दिया राष्ट्रिय निकुञ्जको रम्मापुर चेक पोष्टमा ड्युटीमा रहेका सेनाले आफुलाई निर्घातरुपमा कुटपिट गरेको एक युवकले आरोप लगाएका छन् ।
पूर्व-पश्चिम राजमार्गमा पर्ने मगरागढी– ९ औरीदेखि रम्मापुर ५ नम्वर जाने क्रममा आइतबार साझ रम्मापुर चेक पोष्टमा ड्युटीमा खटिएका सेनासँग सामान्य भनाभन हुँदा सेनाले आफुलाई लछारपछार गर्दै कुटपिट गरेको औरीका २० वर्षीय पीडित रामु चौधरीले बताए ।
चेकपोष्ट नजिकै साथीसँग कुराकनी गरीरहेको बेला नजिकै रहेका सेनासँग पनि सामान्य विवाद भएपछि ड्युटीमा रहेका सेनाले ‘यस्ता केटालाई मैले ठिक पार्न जानेको छु’ भन्दै आफुलाई निर्घात कुटेको पीडित चौधरीको आरोप छ ।
सडकबाट लछारपछार गर्दै कुट्दै व्यारेक भित्र लगरे पनि बाँधेर बुटैबुटले हिर्काएको पीडित चौधरीले बताए । सेनाको कुटाईबाट चौधरीको खुट्टाको औला, निधार र शरिरका विभिन्न भागमा चोट लागेको छ । करिव २ घण्टासम्म सेनाले आफुलाई नियन्त्रणमा राखेर प्रहरी आएपछि बल्ल छाडेको पीडितले बताएका छन् ।
युवकले गल्ती गरेको भए प्रहरीको जिम्मा लगाउनुको साटो सेनाले आफैले कुटपिट गरेको भन्दै घटनाको विरोधमा स्थानियबासीले आइतबार साझ केहीबेर राजमार्ग अवरुद्ध पारेका थिए । कुटपिटबाट घाइतेको उपचार गर्ने र घटनाका सम्वन्धमा छलफल गर्ने सहमती भएपछि राती करिव साढे ९ बजे राजमार्ग खुलेको थियो ।

यता, सेनाले भने मादकपदार्थ सेवान गरी युवकले चेक पोष्ट नजिकै होहल्ला गर्न थालेपछि ड्युटीमा रहेका सेनाले केहीबेर नियन्त्रणमा लिनु परेको बताएको छ । नियन्त्रणमा लिएर पोष्ट भित्र लैजान लाग्दा चौधरी भाग्न खोजेपछि समात्ने क्रममा सामान्य लछारपछार भएको रणशार्दुल गणका गणपती ईश्वर थापाले बताए ।
उनले भने, ‘कुटपिट होइन । विवाद भएपछि नियन्त्रणमा लिने क्रममा सामान्य घटना भएको हो ।’ ड्युटीमा रहेका सेनाले अरु नै व्यक्तिसँग मोटरसाइकल पार्किङ्ग सम्वन्धमा कुरा गर्दै गर्दा नजिकै रहेका ती युवकले सेनालाई जथाभावी शब्द प्रयोग गर्न थालेपछि विवाद भएको गणपती थापाको भनाई छ ।
सेनाले निर्घात कुटेको भन्दै घटनाको बिरोधमा स्थानियबासी सडकमा उत्रेपछि रम्मापुर पोष्ट आइतबार अबेर साझ केहीबेर तनावग्रस्त बनेको थियो । विवाद बढन थालेपछि प्रहरी परिचालन गरी साम्य पारिएको प्रहरी प्रमुख गोवन्दराम परियारले बताए । घटनामा सम्वन्धमा सोमबार छलफल गरिने प्रहरी प्रमुख परियारले जानकारी दिए ।















प्रतिक्रिया