
काठमाडौ, १९ फागुन । भारतीय शायरद्वय दिलदार देहलवी र कमला सिंह जीनतलाई सम्मान गरिएको छ ।
उर्दू एकेडेमी नेपालको आयोजनामा हिजो बुधबार थाहा पुस्तकालय, नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा दिलदार देहलवीलाई भारतीय दूतावासका प्रतिनिधि सत्येन्द्र दहियाले र जीनतलाई अरूण सुमार्गीले सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा उद्योगपति एवम् समाजसेवी अजेय सुमार्गीले साहित्यको माध्यमबाट सबै भाषा भएको धारणा राख्दै नेपाल, भारत र पाकिस्तानको संयुक्त पहलमा उर्दू साहित्यको विकास र विस्तारका लागि पहल हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल भारत साहित्य महोत्सव २०७८ का अध्यक्ष राधेश्याम लेकालीले यस्ता कार्यक्रमका माध्यमबाट साहित्यको आदानप्रदान र अनुवाद कार्यलाई अगि बढाउन महत्त्वपूर्ण योगदान पुग्ने चर्चा गरे ।
कार्यक्रममा उद्योगपति एवम् साहित्यकार अरूण सुमार्गीले भाषा र साहित्यको विकासका लागि हजुरबुबा कलानाथ अधिकारीलगायत परिवारका अन्य सदस्यहरूले देखाएको बाटोमा नै सुमार्गी परिवार लागिपरेको उल्लेख गरे ।
यसैगरी गीतकार अस्मिता सुमार्गीले थाहा पुस्तकालयमा उर्दू शायरहरूलाई सम्मान गर्न पाउनु आफूहरूका लागि महत्वपूर्ण अवसर भएको बताए ।
उर्दू एकेडेमीका अध्यक्ष इम्तियाज वफाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कविहरू नरेन्द्रबहादुर श्रेष्ठ, प्रमोद प्रधान, अस्मिता सुमार्गी, अरूण सुमार्गी, मुरारि सिग्देल, मन्जिला अनिल, किशोर विश्वकर्मा, रेखा यादव, डा श्वेता दीप्ति, पारू तिमिल्सिना, डा साकिब हारनी, सैयद खालिद मोहसिन, फुर्कान फैजि, शिव अधिकारी, निर्मलरमण पराजुली, रेणु अधिकारी मौनता, मनिला वन्त, पवनकुमार बुढाथोकीलगायतले नेपाली, हिन्दी, उर्दू र अङ्ग्रेजी भाषाका कविता, गीत र गजल आदि वाचन गरेका थिए ।
कार्यक्रममा कवि मोमिन खान र सञ्चालन कवि मन्जिला अनिलले स्वागत गरेका थिए ।















प्रतिक्रिया