– तीर्थ नेपाल
चितवन, ७ बैशाख । चितवनको नारायणी नगरपालिका जगतपुरमा १० करोड रुपैयाको लागतमा प्राङगारिक मल कारखाना सञ्चालनमा आएको छ । ३ बर्ष अघि धुलो मल तयार गर्ने उदेश्यले खुलेको कारखानामा हाल लगानी बढाई दानादार मल उत्पादन कारखाना सञ्चालनमा ल्याइएको हो ।
बिभिन्न ७ जना ब्यक्तिहरुको लगानीमा स्थापित युनिक वायोटेक अर्गानेक प्रालिले उत्पादन गरेको दानादार प्राङ्गारिक मल अव झण्डै दश दिनपछि बिक्रि सुरु गर्ने तयारी गरिएको छ । सो कारखानालाई सरकारले उपकरण खरिद गर्न एक करोड ८४ लाख रुपैया अनुदान समेत दिएको छ । सरकारी अनुदानमा कारखानले चीनबाट मेशिन ल्याएको हो ।
प्राङ्गारिक मल गाई भैसीको गोवर, हात्तीको लेड, सल्लोको खरानी, पिना र हड्डीको धुलो लगायत मिसाएर तयार पार्ने गरिएको कारखानाका सञ्चालक हरिप्रसाद मरहट्टाले जानकारी दिए । कच्र्चा पदार्थलाई प्रशोधन गरि दाना– दाना बनाई प्याकिङ गरेर मल तयार गर्ने गरिएको छ । सो कारखानाले धुलो र दाना गरी दुई थरी मल उत्पादन गर्ने गरेको छ ।
युनिक व्राण्डका सो मल किसानले धुलो मल प्रतिकेजी ३० रुपैयामा र दानेदारमल प्रति केजी ४० रुपैयामा पाउने कारखानाका प्रवन्ध निर्देशक बासुदेव आचार्यले बताए । वालीनालीमा शुरुवाती कालमा यो मलको प्रयोग ३० प्रतिशत सम्म गर्न सकिने र बिस्तारै रासायानिक मललाई कटौती गर्दै जानुपर्ने आचार्यको भनाई छ ।
हाल गण्डकी, नारायणी, लुम्विनी, बाग्मती र जनकपुर अञ्चलका बिभिन्न जिल्लामा युनिक मलको बजार रहेको कारखानाले जनाएको छ । धुलो मल वार्षिक २५ सय टन उत्पादन गर्ने गरिएकोमा अव दानेदार मल सहित वार्षिक ५० हजार टन मल उत्पादन गर्ने तयारी छ ।
सरकारले बिषादीयुक्त मलको प्रयोगलाई बिस्तारै कटौती गर्ने लक्ष्य लिए अनुसार सो कारखानालाई अनुदान रकम दिइएको कृषि बिभाग माटो ब्यवस्थापन निर्देशनालयका कार्यक्रम निर्देशक दुर्गाप्रसाद दवाडीले बताए । कृषि प्रसार अधिकृत दिवसराज विष्टले प्राङ्गारिक तथा जैविक मल नियमन कार्यविधी– २०६८ को मापदण्ड पुरा गरेकाले यस कारखानालाई मल उत्पादन गर्न अनुमती प्रदान गरिएको जानकारी दिए ।
नेपालमा हाल स्थापना भएका मध्ये युनिक वायोटेक ठूलो कारखाना भएको सरकारी अधिकारीले जानकारी दिए । ठूला साना गरेर सरकारले अनुदान दिएका २१ वटा कारखाना मध्ये हाल १७ वटा सञ्चालनमा रहेको माटो ब्यवस्थापन निर्देशनालयका कार्यक्रम निर्देशक दवाडीले बताए ।
















प्रतिक्रिया