
काठमाडौँ, १६ फागुन । मंगलबार शिवरात्रिको दिन काठमाडौँका विभिन्न क्षेत्रमा सवारी साधन चलाउन नपाइने भएको छ ।
त्यस दिन पशुपति क्षेत्रमा हुने भीड व्यवस्थापनका लागि ट्राफिक प्रहरीले विभिन्न क्षेत्रमा सवारीसाधन चलाउन निषेध गरेको हो ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार पशुपति आसपासमा सवारीसाधन जान रोक लगाइएको छ ।
पशुपति क्षेत्र विकास कोषले ५० लाख दर्शनार्थीले शिवरात्रिका दिन दर्शन गर्ने सम्भावना रहेको जनाएको छ । त्यसकै व्यवस्थापनका लागि पुरानो वानेश्वरदेखि चावहिल, तिलगंगादेखि कालोपुलसम्मको क्षेत्रबाट सवारी प्रवेशमा कडाइ गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
यद्यपि भीड व्यवस्थापन गर्न सम्भव भएसम्म तिलगंगादेखि चावहिलसम्मको चक्रपथ क्षेत्रको आधा भागमा सवारी चल्न दिने बताइएको छ ।
त्यस दिन सिनामंगलदेखि गौशाला हुँदै चावहिलसम्मको चक्रपथ क्षेत्र प्रभावित हुनेछ । सो क्षेत्रभित्र सवारी व्यवस्थापनको लागि सवारीसाधन प्रवेश निषेध गरिएको छ ।
ट्राफिक प्रहरीले पुरानो वानेश्वर, भीमसेन गोला, सिनामंगल हुँदै तिलगंगासम्मको बाटोबाट सवारी प्रवेश निषेध गरेको छ । त्यस्तै धोवीखोलातर्फ रातोपुल, कालोपुल, सिफल लगायतका क्षेत्रबाट पनि पशुपतितर्फ जाने सवारीसाधनलाई प्रतिबन्ध लगाइएको ट्राफिक प्रहरीले जनाएको छ । त्यस्तै चावहिल, गौरीघाट लगायत क्षेत्रबाट पनि सवारीलाई पशुपति क्षेत्रभित्र प्रवेश नदिइने ट्राफिक प्रहरीले जनाएको छ ।
सिफल चौर, गुह्येश्वरीपारि, पशुपति क्षेत्र विकास कोषको कार्यालय, भण्डारखाल, अमालकोट, तिलगंगा करिडोर र सुरक्षा निकायका सवारीको लागि महानगरीय प्रहरी वृत्त गौशलामा राख्ने व्यवस्था मिलाइएको छ ।












प्रतिक्रिया