३ कार्तिक २०८३, मंगलबार

यूकेले युक्रेनलाई थप सहयोग दिने बोरिस जोनसनको घोषणा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ फागुन । यूकेका प्रधानमन्त्री बोरिस जोनसनले आफूले युक्रेनका राष्ट्रपतिसँग कुरा गरेको र सहयोग दिने प्रस्ताव गरेको बताएका छन् ।

आफ्नो त्रास सही निस्किएको र रुसले आक्रमण गर्न सक्ने चेतावनी मिलेको उनको भनाइ थियो ।

जोनसनले भनेः रुसका राष्ट्रपति पुटिनले युरोपमा युद्ध आरम्भ गरेका छन् । एउटा मित्रराष्ट्रमाथि कुनै पत्यारलाग्दो निहुँ बिनै आक्रमण गरेको उनको भनाइ थियो । उनका अनुसार पूरै बेकसुर जनतामाथि बमको वर्षा भइरहेको छ ।

“आकाशबाट र समुद्रबाट ठूलो आक्रमण भइरहेको छ ।”

युरोपको दोस्रो ठूलो देश युक्रेनले दशकौँदेखि स्वतन्त्रता र प्रजातन्त्र उपभोग गर्दै आएको स्मरण गर्दै जोनसनले भने, “हामी स्वतन्त्रतालाई मासिन दिन सक्दैनौँ । हामी सक्दैनौँ र बेवास्ता गर्दैनौँ ।”

युक्रेनलाई यूकेले प्रतिरक्षाका लागि अस्त्र पठाएको उल्लेख गर्दै उनले अरू साझेदारहरूले पनि त्यसै गरेको तथा आगामी दिनमा पनि यूकेले सघाउने उनको भनाइ छ । तर त्यसबारे उनले थप खुलाएनन् ।

टेलिभिजन सम्बोधनमा जोनसनले रुसी आक्रमणलाई “पुटिनको घृणित र बर्बर काम“ भनेर निन्दा गरे ।

पुटिनले युक्रेनमा “हिंसाको ज्वारभाटा“ सिर्जना गरेको आरोप जोनसनले लगाए ।

रुसी जनतालाई सम्बोधन गर्दै उनले,  “तपाईँहरूको नाममा“ यसो भइरहेको आफूलाई विश्वास नलागेको बताए ।

युक्रेनी जनतालाई सम्बोधन गर्दै जोनसलने भनेः “हामी तपाईँहरूको साथमा छौँ । हामी तपाईँहरू र तपाईँहरूका परिवारका लागि लागि प्रार्थना गर्दैछौँ ।” –बीबीसी