
बागलुङ, ९ फागुन । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बानपा–२ र लघु उद्यम हातेमालो सहकारी संस्था लिमिटेड बानपा–३ बीच एकीकरण हुने भएको छ ।
दुबै संस्थाद्वारा गठित एकीकरण कार्यदलको हिजो आइतबार सम्पन्न संयुक्त वैठकले दुई संस्थाबीच एकीकरण गर्ने निर्णय गरेको हो । आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) र लघु उद्यमी हातेमालो सहकारी संस्थाका अध्यक्ष फुल कुमारी थापाले एकीकरण सम्झौतामा हस्ताक्षर गरेका छन् ।
दुई सहकारी संस्थालाई एकीकरण गरी थप व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउनका लागि एकीकरण प्रक्रिया अगाडि बढाइएको लघु उद्यम हातेमालो सहकारी संस्थाका अध्यक्ष फुल कुमारी थापाले बताइन् । एकीकृत संस्थाका रूपमा आदर्श सञ्चार सहकारी संस्था लिमिटेडमार्फत सदस्यहरूका बीच कारोबार सञ्चालन गर्ने सहमति भएको छ ।
सहकारी ऐनको व्यवस्था अनुसार एकीकरण प्रक्रिया अगाडि बढाउनका लागि सम्बन्धित कार्यालयबाट एकीकरण अनुमतिका लागि अनुरोध गर्ने निर्णय वैठकले गरेको छ । आदर्श सञ्चार सहकारी संस्थाले गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय पोखराबाट र लघु उद्यम हातेमालो सहकारी संस्थाले बागलुङ नगरपालिकाबाट एकीकरणका लागि अनुमति लिएपछि थप प्रक्रिया अगाडि बढाइने आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जिसीले जानकारी दिए ।

आदर्श सञ्चार सहकारी संस्थाले यस भन्दा पहिला रेश बहुउद्देश्यीय सहकारी संस्था र ओम बचत तथा ऋण सहकारी संस्थासंग एकीकरण गरिसकेको छ । संस्थाको गत मंसिरमा सम्पन्न १५औं वार्षिक साधारणसभाले यस आर्थिक वर्षमा १० वटा सहकारी संस्थासंग एकीकरण गर्ने निर्णय गरेको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिए ।
आदर्श सञ्चार सहकारी संस्थामा हाल ३ हजार ३ सय शेयर सदस्य रहेका छन् । लघु उद्यम हातेमालो सहकारी संस्थासंग एकीकरणपछि सस्थामा ३ हजार ५ सय जना शेयर सदस्य रहने सापकोटाले बताए ।















प्रतिक्रिया