काठमाडौँ, ६ वैशाख । नेकपा एमालेमा कार्यविभाजनको तुष कायमै देखिएको छ । कार्यविभाजनमा असन्तुष्टि देखाउँदै पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पनि नोट अफ डिसेन्ट लेख्ने भएका छन् । यसअघि उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल र सचिव योगेश भट्टराईले नोट अफ डिसेन्ट लेखेका थिए ।
केही दिन यता राजधानीबाहिरका पार्टी कार्यक्रममा व्यस्त भएका कारण आफूले नोट अफ डिसेन्ट लेख्न नभ्याएको स्थायी समिति पाण्डेले दैनिक नेपाललाई बताए । राजधानी फर्कनासाथ पार्टी कार्यालय पुगेर स्थायी समिति बैठकको माइन्युटमा नोट अफ डिसेन्ट लेख्ने पाण्डेको भनाइ छ ।
सचिव गोकर्ण विष्ट र भीम आचार्यसँग पनि नोट अफ डिसेन्ट लेख्नका लागि छलफल भइरहेको बताइएको छ ।
असहमति जनाउने सबै पदाधिकारी माधव नेपाल पक्षका हुन् । नेपाल पक्षकै उपाध्यक्ष भीम रावलले भने नोट अफ डिसेन्ट नलेख्ने बताएका छन् ।
यता, यसअघि नै माइन्युटमा आफूले लेखेको नोट अफ डिसेन्ट अन्तरपार्टी निर्देशन (अपानी) मा नपठाइएको भन्दै नेपाल पक्षका नेताहरुले नेतृत्वसँग असन्तुष्टि पोखिसकेका छन् ।
उपमहासचिव भुसालले कार्यविभाजनलाई बन्दरबाँटको संज्ञा दिए । ‘योग्यता, क्षमता हेरेर काम दिने हो भने कार्यविभाजन बन्दरबाँट नै हो ।,’ उपमहासचिव भुसालको तर्क छ, ‘यसले पार्टी अघि बढ्न सक्दैन ।’
उपमहासचिव भुसालको थप तर्क छ, ‘पार्टी चलाउने दुई तरिका हुन्छ- एउटा विधि, विधान, परम्परा, मान्यताबाट चलाउने । अर्को जितेकाले चलाउने । भन्नचाँहि विधि, मुल्य, परम्परा अनुसार जानुपर्छ भन्ने, व्यवहारचाँहि जितेकाले चलाउने देखिएको छ । ओलीजी, ईश्वरजीहरुले जित्नुभएको हो, जितेकाले चलाउने सिद्धान्त हो भने त्यही अनुसार वैध प्रक्रिया बनाए हुन्छ । मुल्य, इतिहास र परम्परा अनुसार चलाउने हो भने यो कार्यविभाजन बन्दरबाँठ हो ।’
महाधिवेशन भएको १० महिनासम्म पनि पार्टी व्यवस्थित हुन नसकेको भुसालको दाबी छ । पार्टीभित्र असहमतिलाई समेत राख्न नदिइएको उनको तर्क छ ।
लामो समयसम्म पनि सहमति हुन नसकेपछि एमाले स्थायी समिति बैठकले असहमतिका बाबजुद कार्यविभाजन घोषणा गरेको थियो । कार्यविभाजनहरु नेताहरु फिल्डमा खटिएका छन् । तर, शाक्य र पाण्डेले नोट अफ डिसेन्ट लेख्ने भएपछि यो विवादको तुष लामो समयसम्म रहने देखिएको छ ।

















प्रतिक्रिया