– विश्वराज पछल्डङ्ग्या
नेपालगञ्ज, ५ वैशाख । सिकल सेल एनिमियाको उपचार गराएर दाङ जिल्ला सिसनिहाय गाविस–१, सिसनियाका २१ बर्यिय निमराज चौधरी बैशाख १ गते घर फर्किएका छन् ।
सिकल सेलका कारण अर्काको सहारामा अस्पताल पुगेका उनी तीनदिनको उपचारपछि आफै हिडेर बसमा चढेर घर फर्किएका हुन् ।
६ वर्षको भएपछि हड्डीको भित्रि भाग, जोर्नी र ढाड दुख्न थालेको विगतलाई सम्झिदै उनले भने । उपचारका लागि उनका बाबुआमाले भारतको बलरामपुर, लखनऊ, पिण्डुरा र नेपालको कोहलपुर, भैरहवा, पाल्पा, बुटवल, घोराहीका अस्पताल र मेडिकल कलेजमा समेत पु¥याए । तर, रोगको पहिचान हुन सकेन ।
‘धेरै ठाउँका अस्पतालमा उपचार गरायौँ तर रोगको पहिचान हुन सकेन,’ अस्पतालमा रहेकी निमराजकी आमा हेमन्तीले भनिन्, ‘रोगको पहिचान हुन नसक्दा पाँच लाख बढि खर्च भइसक्यो ।’ पैँसा खर्च भएको भन्दा निमराजका आमाबाबुलाई छोरा निको नभएकोमा चिन्ता छ ।
पहिले–पहिले दुखाइको औषधि खाएपछि दुखाई कम भएपनि पछिल्लो समय औषधिले समेत काम गर्न छोडेको निमराजले बताए । उनले भने, ‘सुई लगाउँदासमेत दुखाई कम नभएपछि स्थानीय मेडिकलको सल्लाहमा उपचारका लागि नेपालगन्ज आएका हौँ ।’
पहिचान नभएका कारण रोग निको नभएपछि शिक्षा आर्जन गर्ने उनको सपना समेत अधुरो भएको छ । उनले भने, ‘पढ्दा पढ्दै विद्यालय छोडेर उपचार गराउन जानुपर्ने भएकोले पढाई विचमै छाड्नु प¥यो ।’
बाँके जिल्ला बिनौना गाविस–८, चाचाफर्काकी २२ बर्षिया निलिमा थारु गत चैत्र महिनाको २९ गते उपचारका लागि सिद्धार्थ अस्पताल नेपालगन्जमा आइन् । गत कार्तिक महिनामा हात, पाखुरा, खुट्टाको हड्डी फुट्ला जस्तो गरी दुख्न थाले पनि उनी उपचारका लागि मेडिकल कलेज कोहलपुर गइन् ।
उपचारपछि केही समयका लागि राहत मिले पनि पुनः बल्झिएको उनले बताइन् । उपचारका क्रममा करिव ६० हजार रुपैयाँ खर्च भइसकेको उनले सुनाइन् ।
दाङ जिल्ला सिसहनिया गाविस–५, कालापानीका २२ वर्षिय अर्जुन चौधरी बैशाख २ गते उपचारका लागि सिद्धार्थ अस्पताल नेपालगन्जमा भर्ना भएका छन् ।
सिकल सेलका कारण हात, खुट्टाका हड्डी दुख्न थालेपछि सहन नसकेर रुन थाल्छन् । दुख्न थालेपछि उपचारका लागि उनका आमाबाबुले पाल्पास्थित मेडिकल कलेजमा पु¥याए ।
रोगको पहिचान नभएका कारण चिकित्सकले उनलाई हाड, जोर्नी सम्बन्धि औषधि दिए । एकथरी रोग अर्को थरी औषधि भएकाले सञ्चो नभएपछि मेडिकल कलेज कोहलपुरमा आएको अर्जुनले बताए । उनले भने, ‘कोहलपुरस्थित मेडिकल कलेजको रिर्पोट आउन ढिला भएपछि सिद्धार्थ अस्पताल नेपालगन्जमा आएका हौँ ।’
उपचारका क्रममा ५० हजार रुपैयाँ बढि खर्च भइसकेको अर्जुनले बताए ।
सिकल सेल भएका विरामीको उपचारका लागि प्रति ब्यक्ति एकलाख रुपैयाँ बराबरको औषधि उपचार गराउने निर्णयसँगै नेपाल सरकारले भेरी र सेती अञ्चल अस्पताललाई निर्देशन सहितको परिपत्र समेत गरिसकेको छ । तर, अहिलेसम्म कसैले पनि सरकारी सुविधा पाउन सकेका छैनन् ।
सरकारी निर्णय र निर्देशन किन कार्यान्वयन भएन ? भन्ने बुझ्न भेरी अञ्चल अस्पतालका सुपरिटेण्डेण्ट डा. पिताम्बर सुवेदीलाई फोन सम्पर्क गर्दा उनले फोन उठाएनन् । सरकारी निर्णय र निर्देशन कार्यान्वयन नभएका कारण विरामीले आफ्नै खर्चमा उपचार गराउन बाध्य छन् ।
उता, सेती अञ्चल अस्पताल धनगढीका सुपरिटेण्डेण्ट डा. गणेश बहादुर सिंहल पनि सिकल सेलका विरामीलाई सरकारी सेवा दिन नसकेको स्वीकार गरेका छन् । उनले भने, ‘अस्पतालले विरामी जाँच र परामर्श बाहेक कुनै सरकारी सुविधा दिन नसकेको छैन । विरामीले आफ्नै खर्चमा उपचार गराइरहेका छन् ।’
रकमका लागि विभागसँग पटक–पटक माग गरे पनि अहिलेसम्म रकम आइनपुगेको डा. सिंहले बताए । ‘सिकल सेलका विरामीलाई रकम विनियोजनका लागि सचिवस्तरिय बैठक बस्नु पर्ने हुन्छ । तर, अहिलेसम्म बैठक बस्न सकेको छैन । उनले रकम नभएका कारण इच्छा हुँदाहुँदै समेत विरामीको उपचारमा सहयोग गर्न नसकेको बताए ।
















प्रतिक्रिया