– सन्दिप भट्ट
चितवन, ५ बैशाख । पूर्व पश्चिम राजमार्गको केन्द्रबिन्दु चितवनको भरतपुर उपमहानगरपालिकाको नारायणगढ बजारमा छोडिएका छाडा पशुहरुले समस्या उत्पन्न गरेका छन् ।
अति व्यस्थ रहने नारायणगढ बजार र आसपासका क्षेत्रमा छाडा पशु चौपायाहरुको व्यवस्थापन हुन नसक्दा बजार दुर्गन्धित बन्दै गएको छ भने बजार क्षेत्रमा दुर्घटना समेत समेत बढ्न थालेको छ ।
छाडा पशुहरुले नारायणगढ बजारमा फोहोर गर्ने मात्र नभई चौबिसै घण्टा बथानका बथान बजारमा पशुहरु आहारा खोज्दै हिड्न थालेपछि बजारको सडक सुरक्षाका साथै फोहोर व्यवस्थापनमा समेत चुनौती थपिएको हो ।
छाडा पशुहरु व्यवस्थापन हुन नसक्दा नगरबासी समेत हैरान भएका छन् । बजारमा रहेका छाडा पशुहरुको व्यवस्थापनका लागि ऐन बने पनि त्यसको कार्यान्वयन नहुँदा नारायणगढ बजारमा छाडा पशुहरुको बिगबिगी बढेको हो ।
नगर क्षेत्रका छाडा पशुहरुको व्यवस्थापनको मुख्य जिम्मवारी पाएको भरतपुर उपमहानगरपालिका भने यस बिषयमा मौन रहेको छ । छाडा छोडीएका पशुहरुको कारण बजार क्षेत्रमा समस्या परेको स्थानीय व्यापारी धनप्रसाद पोखरेलले बताए ।
सडकमा छाडा छोडीएका पशुहरुले पसलको अगाडि फोहोर गर्ने गरेको तर उपमहानगर भने यस विषयमा मौन रहेको पोखरेलले दुखेसो पोखे । छाडा पशु चौपाया व्यवस्थापनको सम्बन्धमा उपमहानगरपालिकाले के गर्दैछ भनेर बुझ्नको लागि उपमहानगरपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटालाई सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् ।
भरतपुर उपमहानगरपालिकाले भने भरतपुरलाई स्वच्छ बनाउने भन्दै बेलाबेलामा गोष्ठी र अन्तरक्रियामा गर्दै आएको छ । छाडा पशु व्यवस्थापन नगरी उपमहानगरपालिकालाई कसरी स्वच्छ र सफा राख्न सकिन्छ ? यो भने आम सोचनिय प्रश्न बनेको छ ।
















प्रतिक्रिया