८ कार्तिक २०८३, आइतबार

सीपले सृजना गरेको रोजगार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामपुर, २७ माघ । सीप र क्षमता परिस्कृत गर्दै जाँदा सुरज क्षेत्री यतिबेला काष्ठजन्य क्षेत्रमा राम्रो कामदारका रुपमा कहलिनुभएको छ । गाउँमा काठका काम गर्ने क्रममा यसबाट राम्रै कमाउने अभिलासा बोकेर उहाँले क्षमता बढाउन भक्तपुरमा पुगेर सीप सिक्नुभयो ।

सीप विकास र काममा निखार आउँदै गर्दा उहाँ यतिबेला सीपालु र दक्ष कामदारको रोजाइमा पर्नुहुन्छ उहाँ । गुल्मीको चन्द्रकोट गाउँपालिका निवासी ३० वर्षीय क्षेत्री पहिला गाउँमा मात्रै सीमित हुनुहुन्थ्यो भने अहिले जतापनि काम गर्ने अवसर पाउँदा उहाँ खुशी हुनुहुन्छ ।

काठ कुँदेर विभिन्न सामग्री तयार पार्ने उहाँको क्षेत्रीको सीप र कला देख्ने जोकोही पनि दङ्ग पर्छन् । सात वर्षदेखि काठका सामग्री तयार पारेर जिविकोपार्जन उहाँ गर्नुहुन्छ । काठबाट बन्ने सबैजसो सामग्री ग्राहकले भनेअनुसार नै तयार पार्ने राम्रो सीप उहाँमा छ ।

अहिले उहाँ पाल्पाको रामपुर नगरपालिकामा रहेर तीन महिना देखि काठको काम गर्दै आउनुभएको छ । यहाँ निर्माणाधिन लक्ष्मीनारायण धर्मशाला ९गुठी० को भवन निर्माणमा काठको काम गर्न उहाँलाई पुरातात्विक विभागबाटै झिकाएर ल्याइएको हो । उहाँले अहिले यहीँ बसेर भवन निर्माणमा आवश्यकता अनुसारको काठको बनावट तयार पार्ने गर्नुहुन्छ ।

क्षेत्री भन्नुहुन्छ, “काठका सबैजसो सामग्री कुँदेर तयार पार्ने गरेको छु, हातमा सीप भयो भने काम पाउन समस्या छैन, अहिले विभिन्न ठाउँबाट बोलाउने गर्नुहुन्छ, विशेषगरी सामान्य भवन निर्माण भन्दा पनि ऐतिहासिक धार्मिक क्षेत्र, सङ्ग्रहालय, सत्तल निर्माणको क्षेत्रमा काम गर्ने गरेको छु” ।

उहाँले यस अघि काठमाण्डौँ स्थित गौरीघाटको सत्तल, विभिन्न दरबार, ऐतिहासिक, धार्मिक सम्पदाको पुनः निर्माणक्षेत्रमा काम गर्नुभएको छ । काठका विभिन्न हस्तकला, सारङ्गी लगायत गाउँघरमा प्रयोगमा आउने डोको, नाम्लो, हलोका सबै सामग्रीमा उहाँको राम्रो सीप छ ।

पारिवारिक अवस्था नाजुक हुँदा एसएलसी उत्तिर्णपश्चात अध्ययन बीचमै छाडेर हस्तकलाका काममा उहाँ लाग्नुभएको हो । यस व्यवसायबाट उहाँले मासिक रु ४० हजार सम्म कमाइ गर्नुहुन्छ ।

“पहिला गाउँघरमा मात्रै घर तथा भवन निर्माणको क्षेत्रमा काम गर्थे, अहिले सीपमा बढेपछि पुरातात्विक विभाग अन्र्तगतका विभिन्न भवन निर्माणमा काठका काममा खटिएको छु, यसबाट परिवारको जिविका चलेकै छ, म सन्तुष्ट छु”, उहाँले भन्नुभयो ।

बाग्लुङका ३६ वर्षीय डुलबहादुर बोहोरा यसै कार्यमा संलग्न हुनुहुन्छ । गाउँको स्थानीय फर्निचर उद्योगमा काठका काम गर्ने बोहोरा यतिबेला सीप बढ्दै गएपछि नेपालका महत्वपूर्ण सम्पदा निर्माणको क्षेत्रमा काम गर्नुहुन्छ ।

उहाँ गत साउनदेखि रामपुरमै रहेर काठका सामग्री कुँदेर बनाउने गर्नुहुन्छ । काठका सामग्री तयार पार्ने बोहोरालाई यतिबेला यस काममा भ्याइनभ्याई छ ।

“काठको काम गर्न थालेको पाँच वर्ष भयो, हातमा सीप भयो भने जताततैबाट काम आइरहन्छ, काम गर्दै जाँदा सीप पनि बढ्दै गयो, अहिले पुरातात्विक विभागसँग जोडिएपछि विभिन्न स्थानका सार्वजनिक तथा धार्मिक सम्पदाको क्षेत्रमा काठका काममा व्यस्त छु”, उहाँले भन्नुभयो ।

सुर्खेतका ३७ वर्षीय कृष्णबहादुर बुढा तीन महिनादेखि रामपुरमा मजदुरी गर्नुहुन्छ । १३ वर्ष भारतमा मजदुरी गर्नुभएका कृष्णबहादुरले तीन वर्षदेखि घर भवन निर्माणको क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्दै आउनुभएको छ ।

भारतमा आठ वर्ष मजदुरी गरेर स्वदेश फर्कनुभएका कैलालीका २८ वर्षीय भीम साउद पनि अहिले रोजीरोटीलाई रामपुरमा भवन निर्माणको क्षेत्रमा खटिनुभएको छ । परिवारको आर्थिक अवस्था नाजुक हुँदा ८ कक्षा सम्मको शिक्षा लिनु भएका साउदले भारतको मजदुरी छाडेर नेपालमै काम गर्ने मनसाय बोकेर यस क्षेत्रमा संलग्न हुनुहुन्छ ।

“भारतमा बगाएको पसिना र मेहनत आफ्नै देशमा गरियो भने देश बन्छ, अर्काको गाउँ ठाउँमा दुख पर्दा सहयोगी हात कोही हुदैनन्, कमसेकम नेपालमै भए त एकले अर्काको सहयोग र साथ पाइँदो रहेछ”, उहाँले भन्नुभयो ।

हाल रामपुरको लक्ष्मीनारायण धर्मशाला निर्माणक्षेत्रमा पुरातात्विक विभाग अन्र्तगत १४ जनाको समूह परिचालित छ । अहिले भवन तथा घर निर्माणको क्षेत्रमा युवा पिँढीको संलग्नता बढी देखिन्छ ।

हातमा सीप भएकाले यस क्षेत्रबाटै राम्रै कमाइ गरिरहेका छन् । न्यून आय भएका नागरिकको रोजीरोटीको माध्यम नै घर तथा भवन निर्माण बनेको छ । यसैबाट मजदुरवर्गको परिवारको जिविका चलेकै छ । –रासस