– दीपक ओली
धनगढी, ४ वैशाख । नापी कार्यालय धनगढीका कर्मचारीको लापरवाहीका कारण पहलमानपुरका एक व्यक्तिले भोगचलन गर्दै आएको जग्गाको नापी अर्कैको नाममा भएको छ ।
पहलमानपुर-१ थेवैका देबहादुर थापाले भागचलन गर्दै आएको दुई कट्ठा छ धुर (सात सय ८० वर्गमिटर क्षेत्रफल) जग्गा हालसावी गर्दा अरु व्यक्तिको नाममा भएको हो ।
थापाले २०६६ साल वैशाख ८ गते दुर्गादेवी सिंहसँग खरिद गरेको कित्ता नम्बर ७३ को सो जग्गाको लालपूर्जा पनि थापाकै नाममा रहेको छ । तर, नापी कार्यालयले २०६८ मा हालसावी गर्दा कित्ता नम्बर ७३ बदर गरी तीन वटा कित्ता (५७६, ५७७ र ५७८) कायम भएको थापाले बताए ।
५७६ कित्ता नम्बर पदमा शाही र ५७७ कित्ता नम्बर जयनारायण जोशीको नाममा रहेको तथा ५७८ कित्ता नम्बर भने वेवारिसे रहेको नापी कार्यालयले जनाएको छ ।
५७६ र ५७७ कित्ता नम्बरमा थापाको क्रमशः १२–१२ धुर रहेको छ, भने ५७८ कित्ता नम्बरको २४ धुर वेवारिसे रहेको छ । जग्गा धितो राख्न ०७१ माघमा नापी कार्यालय जा“दा नक्सामा जग्गा नभेटिएपछि आफ्नो जग्गा गायव भएको थाहा भएको थापाले बताए ।
मालपोत कार्यालयमा भने कित्ता नम्बर ७३ जग्गा आफ्नो नाममा रहेको उनले बताए । जग्गा धनीलाई जानकारी नदिएर नापीका कर्मचारीहरुले हालसावी गरेकोले आर्थिक चलखेल भएको थापाको आरोप छ ।
नापी कार्यालयका नापी अधिकृत नवराज अवस्थीले जग्गा हालसावी गर्दा नापीका कर्मचारीको त्रुटि भएको स्वीकार गरे । ‘भोगचलनलाई ध्यानै नदिई हालसावी गर्दा त्रुटि भएको हो,’ उनले भने, ‘तीनै जनाले आ–आफ्नोे जग्गा लिए समस्या समाधान हुन्छ ।’















प्रतिक्रिया