२ कार्तिक २०८३, सोमबार

अमेरिकाबाट रिलिज भयो रामप्रसाद खनालको अर्को नयाँ गीत ‘एउटा ढुकुर उडिगयो’

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । नेपालबाट हालै अमेरिका फर्किएका वरिष्ठ लोक तथा दोहोरी गायक एवम् पत्रकार रामप्रसाद खनालले अमेरिकाबाट आफ्नो अर्को नयाँ र फरक शैलीको सेन्टिमेन्टल दोहोरी गीत ‘एउटा ढुकुर उडिगयो’ युट्युबबाट सार्वजनिक गरेका छन् ।

खनालको आफ्नै शब्द र अभिनयमा आएको नयाँ गीतमा सुनिता बुढाले खनाललाई स्वरमा साथ दिएकी छिन भने अभिनयमा शोभा त्रिपाठीको मिठो साथ छ । त्यसैगरी खनाललाई निर्मल शर्माले निर्देशन र अभिनय दुबैमा साथ दिएका छन् ।

थानेस्वर गौतम को सङ्गीत, कमल सरगमले सङ्गीत संयोजन गरेको यो गीत रामप्रसाद खनालको बाउन्नौँ एल्बममा समावेश भएको छ । राजु केसीको छायाङ्कन रहेको उक्त भिडियो गौतम राज खड्काले सम्पादन गरेका छन् ।

अन्तर्राष्ट्रिय कलाकार मञ्चलाई अमेरिकाबाट लिड गरेका संस्थापक अध्यक्ष खनाल गीतहरूमा मौलिकता झल्काउने परिचय बनाएका कलाकार हुन ।

‘दोहोरी गीत लाने र ल्याउने मात्र हुँदैनन्, कथा र व्यथाका पनि बन्छन्, फरक शैलीका पनि बन्छन्, त्यही फरक शैलीको प्रयोग गरेको छु मैले यो गीतमा,’ उनले भने । यो गीतमा पनि फरक शैली र प्रयोग गर्न खोजेको उनको भनाइ छ ।

नेपाली लोक गीत, दोहोरी गीत, आधुनिक, राष्ट्रिय गीतहरू लगायतका सबै खाले गीतहरू रचना गरेका, गाएका अग्रज गायक खनालको यो गीत मात्र होइन उनले गाएका हरेक गीतमा समाज झल्किएको देखिन्छ ।

‘म भाइरल वा चर्चित हुन कहिल्यै गीत गाएको पनि छैन र गाउने पनि छैन । म एउटा लोक गायक, दोहोरी गायक हुँ त्यसैले मैले लेख्ने, गाउने, अभिनय गर्ने कुनै पनि गीत वा सिर्जनामा मैले लोकको इज्जत र सम्मान गर्नुपर्छ,’ उनले भने, ‘म त भन्छु लोकका कलाकार हुँ भन्ने हामीले गाउने अभिनय गर्ने कुरामा मात्र होइन लाउने, खाने, बोल्ने हर कुरामा लोकको सम्मान हुने गरी सोच्नु पर्छ, व्यवहार गर्नुपर्छ ।’ हरेक परिवारले हजुरबुबा, हजुरमुमा, बुबा, आमा, परिवार सबै जना सँगै बसेर हाम्रा गीत सुन्न हेर्न सक्ने खालका हुनुपर्नेमा उनको जोड छ । अन्यथा लोक गायक नभइने उनको टिप्पणी छ ।

अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष समेत रहेका खनालले हालसम्म एक हजार २०० वटा भन्दा बढी लोक, दोहोरी, आधुनिक, राष्ट्रिय, भजन, तीज लगायत सबैजसो विधाका गीत गाइसकेका छन् भने बाउन्न वटा गीति एल्बम प्रकाशित गरिसकेका छन् ।

छापा पत्रकारितादेखि रेडियो, टेलिभिजन, अनलाइन पत्रकारितासम्म पोख्त खनालका १ हजार ५०० वटा भन्दा भन्दा बढी कविता, गजल, मुक्तक र विभिन्न १८ वटा पुस्तक प्रकाशित छन् ।

खनालले यस पटक गाएका सात गीत मध्ये बाँकी गीत क्रमशः रिलिज गर्दै जाने बताएका छन् । खनालले एक महिना यता रिलिज गरेको यो उनको तेस्रो गीत हो । गत हप्ता मात्र अमेरिका फर्किएका खनालले आफ्नो दुई महिनाको नेपाल बसाइमा सात वटा फरक–फरक विधाका गीत रेकर्ड गराएका थिए ।