८ कार्तिक २०८३, आइतबार

गोरखामा प्रविधिमैत्री प्रहरी भवन निर्माण, महानिरीक्षक क्षेत्रीले गरे उद्घाटन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, १७ माघ । जिल्ला प्रहरी कार्यालय गोरखा परिसरमा नवनिर्मित कार्यालय भवन, हिरासत, कार्यालय प्रमुख निवास, प्रहरी कर्मचारीहरुको लागि ब्यारेक भवन, मेस भवन र सिनियर अधिकृत आवास भवनको हिजो आइतबार आयोजित एक कार्यक्रमबीच उद्‌घाटन गरिएको छ ।

उक्त भवनको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उद्घाटन गरेका हुन् । उद्घाटनपछि उनले आगामी दिनमा प्रविधिमैत्री एवम् सुविधा सम्पन्न प्रहरी भवनहरु निर्माण गर्दै लैजाने प्रहरी संगठनको नीतिलाई कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । नवनिर्मित भवनहरुको प्रयोग गरी प्रहरी कर्मचारीबाट गुणस्तरीय प्रहरी सेवा सञ्चालन गर्न सहज हुने अपेक्षा उनको छ ।

प्रतिकूलताको बीचमा अनुकूलता ल्याउने मुख्य दायित्व प्रहरीको भएकाले आम नागरिकलाई पारदर्शी र प्रभावकारी प्रहरी सेवा प्रदान गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई महानिरीक्षक क्षेत्रीले निर्देशन पनि दिएका छन् ।

तल्लो तहका प्रहरी कर्मचारीहरुको वृत्ति विकास र सुविधालाई बिशेष ख्याल गरेर लैजाने प्रतिबद्धता व्यक्त गर्दै ऐतिहासिक जिल्ला गोरखामा कार्यरत प्रहरी कर्मचारीहरुबाट गुणस्तरीय प्रहरी सेवा सहित प्रहरी पेशालाई मर्यादित र स्वाभिमानको पेशाको रुपमा अंगिकार गर्नुपर्ने तथा नागरिकहरुबाट पनि प्रहरी कार्यमा सहयोग र समन्वय गर्न आवश्यक भएको उनले बताएका छन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले २०१२ सालमा नेपाल प्रहरीमा सेवा प्रवेश गरी ३३ वर्ष सेवा पूरा गरी अवकाश प्राप्त पूर्वप्रहरी नायव निरीक्षक ८६ वर्षीय नारायण भक्त अर्याललाई दोसल्ला ओढाई सम्मान गर्नाका साथै भवन निर्माण कार्यमा सहयोग पुर्याउने जिल्ला समन्वय समितिको कार्यालय गोरखा, गोरखा नगरपालिकाको कार्यालय गोरखा र रोयल कन्सट्रक्सन धनगढी कैलालीलाई कदरपत्र प्रदान गरेका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै गुणस्तरीय प्रहरी सेवा प्रदान गर्नका लागि प्रहरीको भौतिक संरचना विस्तार गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्य, गोरखा नगरपालिकाका प्रमुख राजन राज पन्त र नेपाल पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष नरहरि सापकोटाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्राविधिक प्रहरी नायव उपरीक्षक केविनजंग थापाले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै नेपाल सरकारको कूल ९ करोड २५ लाख ९३ हजार ४६२ रुपैयाँ ९४ पैसाको लागतमा उक्त भवनहरुको निर्माण कार्य सम्पन्न भएको जानकारी दिएका छन् ।