
ब्यास (तनहुँ), १६ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले स्थानीय निर्वाचन सार्ने र संघीय निर्वाचनलाई अगाडि सारेर सत्तागठबन्धनले जनमतको उपहास गर्न खोजेको बताएका छन् ।
संवैधानिक व्यवस्थाअनुरूप नै स्थानीय तहको निर्वाचन हुनुपर्नेमा जोड दिँदै अध्यक्ष श्रेष्ठले संघीय निर्वाचन अगाडि सारेर स्थानीय निर्वाचन पर धकेल्न खोज्नुले सरकारको गलत नियत प्रष्ट भएको दाबी गरेका छन् । संवैधानिक छिद्र खोजेर सरकारको आयु लम्ब्याउने प्रपञ्चमा वर्तमान सत्ता गठबन्धन लागेको उनको भनाइ छ ।

गठबन्धनको त्यस्तो कुत्सित योजनालाई नेकपा (एमाले)ले सफल हुन नदिने पनि उनले स्पष्ट पारेका छन् । ‘गठबन्धनका नाममा सरकारको हालीमुहाली गर्न खोज्नेहरूले अनेकौं बहानामा जनमतको उपहास गर्न खोजिरहेका छन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘संविधानमा नै प्रष्ट उल्लेख भएको व्यवस्थामा समेत गठबन्धनका मतियारले लत्याएर लोकतन्त्रको उपहास गर्न उद्दत् छन् । यसमा नेकपा (एमाले) सहमत हुन सक्दैन ।’
यसैगरी नेकपा एमाले तनहुँका उपसचिव प्रदिपराज अधिकारीले नेकपा एमालेको सरकारले जनमुखी काम गरेको निश्चित व्यक्तिलाई मन नपरेको हुदाँ अदालतमार्फत परमादेश जारी गरेर ओली सरकार विस्थापित गरेको बताए । राष्ट्रियसभामा गठबन्धन एक हुँदा एमालेको भोट अझ वृद्धि भएको उनको दाबी छ ।















प्रतिक्रिया