८ कार्तिक २०८३, आइतबार

‘सिभिल अस्पतालको लापरबाहीका कारण पत्रकारको निधन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । नेपाल पत्रकार महासंघले टीभी टुडेमा कार्यरत पत्रकार एलबी विश्वकर्माको निधन हुनुमा सिभिल अस्पतालको लापरबाही मुख्य कारण रहेको निश्कर्ष निकालेको छ ।

घटनाको अध्ययन गर्न महासङ्घको केन्द्रीय सदस्य रामकृष्ण अधिकारीको संयोजकत्वमा गठित तीन सदस्यीय अध्ययन समितिले हिजो शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनले अस्पतालको लापरबाही कै कारण उनको मृत्यु हुनुको पहिलो कारण भएको उल्लेख गरेको छ ।

नेपाल सरकार समेतको स्वामित्वमा सञ्चालित उक्त अस्पताल प्रशासन सेवाग्राहीमैत्री नहुुनुको परिणामले पत्रकार विश्वकर्माको निधन भएको अध्ययन समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महासङ्घले अग्रपङ्क्तिमा रहेर खटिरहेका पत्रकारको स्वास्थ्य उपचारका लागि विशेष व्यवस्था गर्न सरकारसँग माग गरेको छ । सर्वोच्च अदालतले कोभिड–१९ बाट सङ्क्रमित नागरिकको स्वास्थ्य परीक्षण र उपचार निःशुल्क गर्न २०७७ असोज १५ गते आदेशसमेत जारी गरेको सन्दर्भमा महामारीका बेला सबै नागरिकको स्वास्थ्य उपचार निःशुल्क गर्ने व्यवस्था गर्न महासङ्घले सरकारसँग आग्रह गरेको छ ।

सरकारले सरकारी अस्पतालमा पटकपटक पत्रकारको निःशुल्क उपचार हुने भनी गरेको घोषणाको व्यावहारिक कार्यान्वयन गर्नतर्फ ध्यान दिन पनि महासङ्घले सरकारसँग आग्रह गरेको छ ।

यस प्रकरणको निस्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनु अस्पतालको जिम्मेवारी र कर्तव्य हुने महासङघको ठहर छ । टीभी टुडेसहित सञ्चार प्रतिष्ठानलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आफ्ना कर्मचारी पत्रकारलाई समाहित गर्न, न्यूनतम पारिश्रमिक लागू गर्न, समयानुकूल पारिश्रमिक पुनरावलोकन गर्न र श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेअनुसार सेवा सुविधाको ग्यारेन्टी गर्न, कार्यस्थललाई स्वास्थ्यमैत्री बनाउन महासङ्घको माग छ ।

पत्रकार विश्वकर्माको माघ ६ गते बिहान मृत्यु भएको थियो ।